सन्दर्भः २५७० औं बुद्ध जयन्ती
बुद्ध दर्शन: प्रभाबशाली आध्यात्मिक परम्परा
बुद्ध दर्शन शताब्दियौं देखि एसियाका अधिकांश भागहरूमा प्रभावशाली आध्यात्मिक परम्परा बनेको छ । भारतमा हिन्दु दर्शनले जस्तै नेपाल, चीन, तीब्बत, जापान, कोरिया, श्रीलंका, थाइल्याण्ड, आदि देशहरूमा बुद्ध दर्शनले बौद्धिक, सांस्कृतिक र कलात्मक क्षेत्रहरूमा ठूलो प्रभाव पारेको छ । तर हिन्दु दर्शनको विपरित बुद्ध दर्शनका प्रवर्तन एउटा व्यक्ति मात्र थिए । उनी थिए– सिद्धार्थ गौतम । उनको समय इसाई पूर्व ६०० को मध्य थियो । उनी त्यस्तो युगमा जन्मिएका थिए, जुन वेला विश्वमा ठूला–ठूला दार्शनिकहरू तथा आध्यात्मिक गुरूहरूको जन्म भएको थियो । चीनका कन्फ्युसियस र लाओ त्से, पर्सियाका जराथुस्त्र तथा ग्रीसका पिथागोरस र हेराक्लिटस उनकै समकालीन थिए । हिन्दु दर्शन पौराणिक तथा धार्मिक प्रकृतिको छ भने बुद्ध दर्शन मानसिक प्रकृतिको छ । संसारको उत्पत्ति, ईश्वरको स्वरूप, इत्यादि जस्ता प्रश्नहरूमा मानिसहरूको जिज्ञासालाई पूरा गर्ने कुरामा बुद्धको कुनै अभिरूचि थिएन । उनको चिन्ता मानवीय अवस्था, दुःख तथा निराशासँग थियो । त्यसकारण उनको सिद्धान्त आधिभौतिक (दार्शनिक) थिएन, मनोवैज्ञानिक थियो । उनले मानिसहरूको दुःख तथा निराशाको कारण खोजे र त्यसबाट मुक्त हुने उपाय (विधि) बताए । बुद्धले परम्परागत हिन्दु दर्शनमा प्रचलित माया, कर्म र निर्वाण जस्ता धारणाहरूको प्रत्यक्ष रूपमा सान्दर्भिक मनोवैज्ञानिक व्याख्या गरे ।
बुद्धको मृत्युपछि बुद्धदर्शन प्रमुख दुई धाराहरूमा विकसित भयो । तिनीहरू हुन् – हिनयान र महायान । यिनीहरू मध्ये हिनयान कट्टरपन्थी धारा हो, जसले बुद्धका शिक्षाहरूलाई अक्षरशः पालन गर्ने कुरामा जोड दिन्छ । तर महायान एउटा उदारवादी र खुल्ला धारा हो । यसले बुद्धदर्शनका सूत्रहरूलाई भन्दा त्यसको भावना वा मर्मलाई महत्व दिन्छ । हिनयान धारा सिलोन, बर्मा र थाइल्याण्डमा स्थापित भयो र महायान धारा नेपाल, तीब्बत, चीन र जापानमा स्थापित भयो । भारतमा लामो समयपछि हिन्दु दर्शनले बुद्ध दर्शनलाई आफूमा समाहित गर्यो र बुद्धलाई भगवान विष्णुको नवौं अवतार मान्यो ।
बुद्ध दर्शन जब एसियाका विभिन्न भागहरूमा फैलियो, तब यो धेरै भिन्न संस्कृति र मानसिकताका मानिसहरूको सम्पर्कमा आयो । उनीहरूले बुद्धको सिद्धान्तलाई आफ्नो–आफ्नो दृष्टिकोण अनुसार व्याख्या गरे र यसमा आफ्ना मौलिक विचारहरू थपे । परिणाम स्वरूप बुद्ध दर्शन लामो समय देखि जीवित रहेको छ र यसमा गहन मनोवैज्ञानिक अन्तर्दृष्टिहरू सहित उच्चस्तरीय दार्शनिक सिद्धान्तहरूको विकास भएको छ । बुद्धदर्शनमा बौद्धिक स्तरका सिद्धान्तहरूको विकास भए पनि अमूर्त चिन्तन यथावत छ । पूर्वीय रहस्यवादका अनुसार नै यसमा बुद्धिलाई प्रत्यक्ष रहस्यमय अनुभवलाई स्पष्ट बनाउने साधनको रूपमा मात्र हेरिएको छ । यो अनुभवलाई बुद्धिष्टहरूले ’जागरण’ भन्दछन् । यसको सार बौद्धिक भेदहरू र विपरीतहरूलाई नाघेर अचिन्त्य संसारमा पुग्नु हो, जहाँ वास्तविकता अविभाज्य र अभिन्न सत्यको रूपमा देखिन्छ ।
गौतम बुद्धले सात वर्षको कठिन तपस्या पछि एक रात यो अनुभूति गरेका थिए । बोधीवृक्ष मुनि गहिरो ध्यानमा बसिरहेको बेला अकस्मात उनलाई ‘अनुपम र पूर्ण ज्ञान’ को रूपमा लामो समयदेखि खोजिरहेको कुरा प्राप्त भएको थियो । यो ज्ञानले उनलाई ’बुद्ध’ बनायो । बुद्धले आफूले प्राप्त गरेको ज्ञानलाई ‘चार आर्यसत्य’ को रूपमा उपदेश दिएका थिए, जुन बुद्धदर्शनको आधारभूत सिद्धान्त हो । यो एउटा डाक्टरको भनाइजस्तै छ, जसमा सर्वप्रथम रोगको कारण पत्ता लगाईन्छ, त्यसपछि रोगको उपचार हुन्छ भन्ने सुनिश्चित गरिन्छ र अन्त्यमा रोगको उपचार विधि बताइन्छ । पहिलो आर्यसत्यले के बताउँछ भने मानव जीवनको प्रमुख विशेषता दुःख वा निराशा हो । यो दुःख वा निराशा जीवनको आधारभूत तथ्यलाई देखेपछि उत्पन्न हुन्छ । त्यो हो – संसारमा हरेक वस्तु अस्थायी र परिवर्तनशील छ । बुद्धको शब्दमा, सबै वस्तुहरू आउँछन् र जान्छन् । प्रकृतिको गति र परिवर्तनको यो धारणा बुद्धदर्शनको आधार हो । बुद्धदर्शनको दृष्टिकोण अनुसार जब हामीले जीवनको गतिलाई रोक्छौ र निश्चित रूपहरूमा स्थिर रहने प्रयत्न गर्दछौ, तब दुःखको उत्पत्ति हुन्छ । यी निश्चित रूपहरूलाई माया भनिन्छ । यो अनित्यको सिद्धान्तले शाश्वत अंह वा आत्मा छैन भन्ने धारणालाई पनि व्यक्त गर्दछ ।
दोस्रो आर्यसत्यले के बताउँछ भने सबै दुःखको कारण तृष्णा हो । बुद्ध दर्शनका अनुसार तृष्णा गलत दृष्टिकोणबाट उत्पन्न हुन्छ, जसलाई ‘अविद्या’ भनिन्छ । यो अविद्याको कारण हामीले संसारलाई अलग वस्तुहरूमा विभाजित गर्दछौं र वास्तविकताका गतिशील रूपहरूलाई मनद्वारा सृजित धारणाहरूमा सीमित गर्ने प्रयत्न गर्दछौं । जबसम्म यो दृष्टिकोण अस्तित्वमा रहन्छ, तबसम्म हामी दुःख पाउन बाध्य हुन्छौं । तेस्रो आर्यसत्यले के भन्दछ भने दुःख र निराशालाई अन्त्य गर्न सकिन्छ । यस अनुसार संसारको दुश्चक्रलाई नाघ्न, कर्मको बन्धनबाट आफूलाई मुक्त गर्न र निर्वाण प्राप्त गर्नसकिन्छ । यो निर्वाण अथवा पूर्ण मुक्तिको अवस्थामा अलग–अलग वस्तुहरू तथा आत्माहरूका झुटा धारणाहरू सदाको लागि लोप हुन्छन् र सबै वस्तुहरू र आत्माहरूको एकता नित्य चेतना बन्छ । बुद्धदर्शनको निर्वाण हिन्दु दर्शनको मोक्षजस्तै हो । यो सबै बौद्धिक धारणाहरू भन्दा माथिको चेतना भएको हुँदा यसको थप व्याख्या गर्न सकिँदैन । निर्वाण प्राप्त गर्नुको अर्थ सचेतना वा बुद्धत्व प्राप्त गर्नु हो ।
चौथो आर्यसत्यले सबै दुःखहरूको अन्त्य गर्ने विधि बताउँछ । यो विधि बुद्धको अष्टाङ्गी मार्ग हो, जसले बुद्धत्वको अवस्थामा पु¥याँछ । बुद्धले आफ्नो सिद्धान्तलाई एउटा सुसंगत दार्शनिक प्रणालीमा विकास गरेनन् । तर उनले यसलाई निर्वाण प्राप्त गर्ने साधन मानेका थिए । संसारको बारेमा उनका सबै कथनहरूले सबै वस्तुहरू अस्थायी छन् भन्ने कुरामा जोड दिएका थिए । बुद्धले आफू लगायत सबै आध्यात्मिक प्राधिकारबाट मुक्त हुनुपर्छ भन्ने कुरामा जोड दिएका थिए । किनभने उनले बुद्धत्व प्राप्त गर्न बाटो मात्र देखाउन सक्छन् र त्यसमा पुग्नको लागि प्रयत्न हरेक व्यक्तिले गर्नुपर्छ । बुद्धको अन्तिम उपदेश थियो – ‘सबै सजीव वस्तुहरूमा विनाश अन्तर्निहित छ ।’ धेरै विद्वानहरूका अनुसार बुद्धिस्ट चिन्तनको चरम विकास ‘अभतम्सक’ धारामा भएको छ, जुन यही नामको सूत्रमा आधारित छ । यो सूत्रलाई महायान धाराको चुरो मानिन्छ । डी.टी. सुजुकीले यसको प्रशंसा अत्यन्तै सुन्दर शब्दमा गरेका छन् – “अभतम्सक सूत्र वास्तवमै बुद्धिस्ट चिन्तन, बुद्धिस्ट धारणा र बुद्धिस्ट अनुभवको पूर्णता हो । मेरो विचारमा विश्वको कुनै पनि धार्मिक ग्रन्थ कहिले पनि यो सूत्रको जति महान धारणा, गहिरो अनुभूति र विशाल संरचनामा पुग्न सक्दैन ।” जब महायान बुद्धदर्शन एसिया भरि फैलियो, तब अभतम्सक सूत्रले नै चिनियाँ तथा जापानी विद्वानहरूलाई उत्प्रेरित ग¥यो । एकतिर चिनियाँहरू तथा जापानीहरू र अर्कोतिर भारतीयहरूको बीचमा भिन्नता यति धेरै छ, तिनीहरूले मानव मस्तिष्कका दुई ध्रुबहरूको प्रतिनिधित्व गर्छन् । चिनियाँहरू र जापानीहरू व्यावहारिक, प्रयोगवादी र सामाजिक प्रकृतिका छन् भने भारतीयहरू कल्पनावादी, अभौतिक र परलौकिक चिन्तन शैलीका छन् ।
जब चिनियाँ र जापानी दार्शनिकहरूले भारतीय धार्मिक प्रतिभाद्वारा सृजित महान ग्रन्थ अभतम्सक सूत्रको अनुवाद र व्याख्या गर्न थाले, तब ती दुई विपरित ध्रुबहरूको मिलन भएर एउटा गतिशील एकता भयो । त्यसको परिणाम स्वरूप चीनमा ह्वा–येन (ज्गब–थभल) दर्शन र जापानमा केगोन (प्भनयल) दर्शनको विकास भयो । डी.टी. सुजुकीका अनुसार यी दर्शनहरूको विकास “बुद्धिस्ट चिन्तनको सर्वोच्च शिखर हो, जुन विगत २००० वर्षदेखि सुदूर पूर्वमा विकसित हुँदै आएको छ ।” अभतम्सक सूत्रको केन्द्रीय विषय सबै वस्तुहरूको एकता र अन्तर्सम्बन्ध हो । यो धारणा पूर्वीय विश्व दृष्टिकोणको सारतत्व मात्र होइन, आधुनिक भौतिक विज्ञानमा उदीयमान विश्व दृष्टिकोणको आधारतत्व पनि हो । त्यसकारण यो प्राचीन धार्मिक ग्रन्थमा आधुनिक भौतिक विज्ञानका सिद्धान्तहरू तथा धारणाहरूसँग मिल्ने सिद्धान्तहरू उपलब्ध छन् भन्न सकिन्छ ।
(फ्रिटजोफ काप्राद्वारा लिखित पुस्तक ‘ताओ अफ फिजिक्स’ वाट झिकिएको ।
अनुवाद: रमेश सुनुवार, सम्पादन: राजकुमार श्रेष्ठ र निर्देशन: मिलन आफन्त)
