शिक्षा : जीवनको अमूल्य सम्पत्ति

काठमाडौं – मिलन आफन्त

शिक्षा केवल किताबी ज्ञान होइन, जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो । यो जन्मेदेखि मृत्युपर्यन्त चलिरहने प्रक्रिया हो जसले व्यक्तिलाई बौद्धिक, शारीरिक, सामाजिक, आर्थिक र नैतिक रूपमा सर्वांगीण विकास गर्दछ ।

शिक्षालाई सामान्य भाषामा ज्ञान प्राप्त गर्नु वा सिक्नु भनिन्छ । संस्कृत भाषाको ‘शिक्ष’ धातुबाट यो शब्द निक्लिएको हो जसको अर्थ सिक्नु वा सिकाउनु हो । अंग्रेजीमा ‘Education’ भनिने यो शब्द ल्याटिन भाषाको ‘Edu’ (आन्तरिक) र ‘Catum’ (बाहिर निकाल्नु) बाट बनेको हो । यसको अर्थ हो – आन्तरिक क्षमताहरूलाई बाहिर ल्याउनु ।

शिक्षा प्राचीन कालदेखि नै चल्दै आएको छ । कसैले विद्यालयको चार भित्ताभित्र मात्र शिक्षा ठान्छन् भने कसैले जन्मेदेखि मृत्युपर्यन्त प्राप्त हुने हरेक अनुभवलाई शिक्षा मान्छन् । वास्तविक अर्थमा शिक्षा भनेको व्यक्तिको सम्पूर्ण विकास हो ।

शिक्षाका केही प्रसिद्ध परिभाषाहरू :

  • “ज्ञानभन्दा शुद्ध अरु केही छैन” – भगवत गीता
  • “आत्मानुभूति नै शिक्षा हो” – शंकराचार्य
  • “प्रत्येक मानिसको मनमा अवस्थित विश्वको साझा विचारलाई प्रकाशमा ल्याउनु नै शिक्षा हो” – सुकरात
  • “शिक्षा भनेको मानिसको आन्तरिक शक्तिको स्वाभाविक, सर्वांगीण र प्रगतिशील विकास हो” – पेस्टालोजी
  • “शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो, जसलाई चलाएर तिमी संसार बदल्न सक्छौ” – नेल्सन मण्डेला

शिक्षाको महत्व किन ?

शिक्षाले व्यक्तिलाई आफ्नो र संसारको बारेमा जान्न मद्दत गर्छ । यसले सोच्ने, विश्लेषण गर्ने र सही निर्णय लिने क्षमता दिन्छ । व्यक्तिले आफ्नो अधिकार र जिम्मेवारीबारे सचेत हुन्छ र समाजमा सकारात्मक योगदान दिन प्रेरित हुन्छ ।

शिक्षाले व्यक्तिलाई कसरी मद्दत गर्छ ?

  • ज्ञान र सीप प्रदान गर्छ : विभिन्न विषयमा ज्ञान र सीप सिकाएर आफ्नो क्षेत्रमा सफल बनाउँछ ।
  • व्यक्तित्व विकास गर्छ : आत्मविश्वास, अनुशासन र नैतिकता जस्ता गुणहरू विकास गर्छ ।
  • सामाजिक तथा आर्थिक विकास : गरिबी र बेरोजगारी घटाउँछ, जीवनस्तर उकास्छ र देशको समग्र विकासमा योगदान दिन्छ ।
  • संस्कृति र परम्पराको संरक्षण : आफ्नो संस्कृति र परम्पराबारे सचेत बनाउँछ र यसको रक्षा गर्न प्रेरित गर्छ ।
  • विश्वलाई बुझ्न सिकाउँछ : विभिन्न संस्कृति, भाषा र इतिहासबारे जानकारी दिएर विश्वलाई स्वीकार गर्न मद्दत गर्छ ।

निष्कर्ष

शिक्षा जीवनको अमूल्य सम्पत्ति हो । यसले व्यक्तिलाई सम्मानित र योग्य बनाउँछ, समाजलाई सकारात्मक बनाउँछ र देशलाई विकसित बनाउँछ । सरकार र समाजले शिक्षाको गुणस्तर र पहुँच बढाउन लगानी गर्नुपर्छ । केवल शिक्षित नागरिकहरूबाट नै शिक्षित, समृद्ध र विकसित नेपाल निर्माण हुन सक्छ ।

शिक्षा निरन्तर चलिरहने यात्रा हो । यसलाई जति बलियो बनायौं, हाम्रो भविष्य त्यति उज्ज्वल हुन्छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *