६ असार, मोरङ । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सवारी दुर्घटना न्यूनीकरणमा सरकार संवेदनशील रहेको बताउनुभयो । विराटनगरमा आजदेखि सुरु भएको ट्राफिक सप्ताह–२०८२ को उद्घाटनमा उहाँले ट्राफिक प्रहरीलाई साधनस्रोत सम्पन्न बनाई दुर्घटना कम गर्न नीति बनाइरहेको बताउनुभयो ।
उहाँले साउन १ गतेदेखि दुर्घटना न्यूनीकरणका प्रयास सार्वजनिक गर्न र सवारी चालकको व्यवहारमा निगरानी राख्न निर्देशन दिनुभयो । आन्तरिक मामिलामन्त्री रेवतीरमण भण्डारीले दुर्घटना, लागुपदार्थ दुरुपयोग र आत्महत्या न्यूनीकरणका लागि सचेतना अभियान सञ्चालन गरिने बताउनुभयो ।
मोरङका प्रजिअ इन्द्रदेव यादव र प्रहरी अधिकारीहरूले दुर्घटनाबाट हुने क्षति कम गर्न सबैको सहयोग आवश्यक रहेको बताए । यो सप्ताहव्यापी कार्यक्रममा १४ जिल्लामा सचेतना कार्यक्रम हुनेछन् । चालु वर्षको जेठसम्म ५,१०० दुर्घटनामा ३८१ जनाको मृत्यु भएको छ ।