अत्यावश्यक बाहेक यात्रा नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह: पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले आगामी असोज १७ गते शुक्रबारदेखि २० गते सोमबारसम्म (अक्टोबर ४-७) पाँच प्रदेशका बासिन्दालाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न विशेष अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागले यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना औंल्याएपछि प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। यसका कारण नारायणी, बागमती, कमला र कोशी नदीमा पानीको बहाव खतराको तह आसपास पुग्न सक्ने देखिएको छ।
उच्च जोखिममा रहेका क्षेत्रहरू:
- बागमती प्रदेश: काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन।
- कोशी प्रदेश: सङ्खुवासभा, ताप्लेजुङ्ग, इलाम, झापा, मोरङ।
- मधेश प्रदेश: बारा, पर्सा, सर्लाही, रौतहट।
यी क्षेत्रका साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्राधिकरणद्वारा जारी सतर्कता तथा पूर्वतयारीका लागि निम्न आग्रहहरू:
- अत्यन्त जरुरी नभई घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्नुहोस्।
- सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिले वर्षा एवं बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउनेबारे निर्णय गर्न सक्नेछ, सो निर्णयको पालना गर्नुहोस्।
- पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउनुहोस्।
- डुबान हुने बस्तीका बासिन्दाले उँचो र सुरक्षित स्थानबारे जानकारी लिनुहोस् र अरूलाई पनि जानकारी दिनुहोस्। आवश्यक पर्नासाथ सुरक्षित स्थानमा सर्न तयारी गर्नुहोस्।
- तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक लगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहनुपर्नेछ।
- जोखिमयुक्त राजमार्ग र सडकमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्साभेटर, लोडर लगायतका साधन तयारी अवस्थामा राख्नुहोस्।
- पूर्वतयारी, पूर्वकार्य एवं प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्था, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क रहनुहोस्।
प्राधिकरणले सबैलाई सचेत रहन र कुनै पनि सम्भावित विपद्बाट जोगिनका लागि आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।