
पृथ्वीको चाल,सौर्यमण्डलको गति,ग्रहगणको स्थिति,तिथि,वार ,नक्षत्र ताराको अवस्था अध्ययनका आधारमा सौर्यमान र चान्द्रमान गणना गरी ज्योतिष शास्त्रीहरूले पञ्चाङ्ग विधानको व्यवस्था गरेको पाइन्छ। पञ्चाङ्गकै आधारमा चाडपर्व मनाउने, धर्म सँस्कृति जगेर्ना गर्दै देवकार्य, पितृकार्य सम्पन्न गर्ने, व्रत उपवास गर्ने जस्ता विधिहरू गरिन्छ। तर समय शुद्धताको सवालमा हाल केही पृथक विचार देखिएको छ।जस्तै – पञ्चाङ्गको पाना पल्टाएर हेर्दा आषाढ को ७ गते सूर्य दक्षिणायन भएको प्रत्यक्ष देखिन्छ तर कर्मकाण्डीय पुरोहितहरुले कार्यारम्भमा संकल्प वाचन गर्दा आषाढको मसान्त सम्म पनि ‘श्री सूर्य उत्तरायणे’भन्ने गरेको पाइन्छ, यस्तो विवादास्पद अनुष्ठानले कसरी मुक्ति र सिद्धि प्राप्त हुन सक्छ?
यस प्रकार लगभग २४दिन पहिले गरिने सबै पर्व विधान २४दिन पछि मात्र हुदैआएको छ। यस सन्दर्भमा पर्व सुधारको आवश्यकता महसुस गरी नेपाल सरकारले २०६४सालमा ‘पर्व सुधार राष्ट्रिय कार्यान्वयन समिति’ ‘गठन गरेको भएपनि त्यसले तीव्रता दिन सकेको पाइँदैन। हाल उक्त कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले ‘पर्व समय सुधार राष्ट्रिय समाज नेपाल ‘ संस्थाले “शुभ मुहूर्त”नामक मुखपत्र मार्फत पर्व समय सुधारको अभियानमा सशक्त विचार संप्रेषण गर्दै आएको छ।
यसै सन्दर्भमा;
पर्व-समय सुधार : एउटा क्रान्ति
-सूर्यप्रकाश जमरकटेल
शार्दूलविक्रीडित लयमा लेखिएको एउटा कविता
————————————–
आफ्नो अक्ष घुमी विशाल पृथिवी हिड्दै छ रातोदिन,
बारम्बार परिक्रमा ग्रहदिशा बाटो गरी मापन।
फन्को मार्दछ सौर्यमण्डलसँगै, नक्षत्र,तारासँग।
गोलो मार्गविधि प्रमाणित हुने चक्रीय पारासँग।
घुम्दै कर्कटमा पुगे रवि भने नक्षत्रका चालमा,
छोटो बन्दछ रात चैं, दिन भने लामो भयो सालमा।
त्यस्तै सूर्य पुगे भने मकरमा लामो भयो रात यो,
छोटो भो दिन एक वर्ष भरिमा सङ्क्रान्ति मासान्त भो।
घुम्दै मेष,तुला सरे रवि ,दिवा रात्री बराबर् हुने,
यस्तो सौर्य विधान चल्दछ सदा देब्रे तथा दाहिने
लामो रात निकै सरेर अहिले भो पौषको सातमा,
लामो भो दिन चैं क्रमागत भई आषाढकै सातमा।
लाग्दा दक्षिण तर्फको अयनमा श्रीसूर्य अाकाशमा
झण्डै चौबिस रातको र दिनको अन्तर् हुँदा व्यासमा।
पण्डाले र पुरेतले किन अझै भन्छन् पुजा श्राध्दमा,
हिड्दैछन् रवि उत्तरायण भनी पूर्वाङ्ग ,गोदानमा।
हुन्छन् ज्योतिषका फलागम झुटा वेला चुकेका दिन,
थाहा प्रष्ट हुदाहुदै पनि झुठो वाणी बकेका किन ?
सोझो रूख छ है तथापि करमा बाङ्गै भने झैँ छ यो,
बच्चाले अझ बादशाह किन हो नाङ्गै भने झैँ भयो।
यौटा गर्दछ सूर्यमास गणना नक्षत्र राशी पढी,
अर्को लेख्दछ चान्द्रमान तिथिले मैन्हा भयो है बढी।
चान्द्री चैं मलमासले खिचिदियो मैन्हा मिल्यो हालको,
गर्नैपर्छ मिलान फेरि ऋतुको ,सौर्यदिका सालको,
पात्रो एक छ यो ,भयो मत दुई विद्वान विद्वानमा।
लेखौं उत्तर दिन्छ जे गणितले के डुब्नु आख्यानमा।
पात्रा टक्क मिलून् फलागम मिलून् दोषी नहुन् कुण्डली।
वेला पर्व मिलून् मुहूर्त गणना गर्दा नहोस् खल्बली।
नाघ्यो साइत शुद्ध गोचर छुटे संस्कारमा क्रान्ति होस्,
लागौँ पर्व सुधारमा समयमा साईतमा क्रान्ति होस्।
अन्धाधुन्द रुढी पुरेत,गुरुका मन्त्रादिमा क्रान्ति होस्,
मिथ्या ज्योतिषमा हुदैन, तर षड्यन्त्रादिमा क्रान्ति होस्,।
******************************************