अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच जारी १२ दिने युद्ध समाप्त भएको र पूर्ण युद्धविराममा सहमति भएको घोषणा गरेका छन्। उनले ‘ट्रुथ सोसल’मा पोष्ट गर्दै इजरायल र इरान दुवै युद्ध अन्त्य गर्न र युद्धविराम गर्न सहमत भएको बताएका थिए। उनले युद्धविराम चरणबद्ध हुने र यसले मध्यपूर्वलाई विनाशबाट जोगाएको दाबी गरेका छन्।
यद्यपि, ट्रम्पको घोषणा लगत्तै इरानले भने यस्तो कुनै सम्झौता नभएको भन्दै त्यसको खण्डन गरेको छ। इरानका विदेशमन्त्री सेइद अब्बास अराक्चीले तत्कालै प्रतिक्रिया दिँदै युद्धविरामबारे कुनै सहमति नभएको र इजरायलले आक्रमण रोके मात्र इरानले आफ्ना कारबाही रोक्ने सर्त राखेको स्पष्ट पारेका थिए।
पछि इरानका विदेशमन्त्रीले बिहान ४ बजेदेखि इरानको सैन्य कारबाही रोकिएको भने पुष्टि गरेका छन्, तर यसलाई युद्धविराम सम्झौता भनेका छैनन्।
रिपोर्टमा यसअघि इरानले अमेरिकाको कतारस्थित सैन्य आधारमा मिसाइल आक्रमण गरेको र त्यसलाई आणविक स्थलमा अमेरिकी हमलाको बदला भनेको उल्लेख छ। ट्रम्पले भने उक्त इरानी हमलालाई कमजोर भन्दै सामान्यीकरण गरेका थिए। युद्धविराम घोषणा हुनुभन्दा अघिल्लो दिन इजरायलले इरानको एभिन जेलमा हमला गरेको र त्यसको जवाफमा इरानले ‘अपरेशन ट्रु प्रमिस ३’ अन्तर्गत इजरायली सहरमा हमला गरेको पनि उल्लेख छ। इरानका सर्वोच्च नेताले इरान कुनै हालतमा आत्मसमर्पण नगर्ने बताउनु भएको छ।
