परिचय

वैज्ञानिक समाजवाद पुँजीवादी समाजको गर्भबाट जन्मिएको एक राजनीतिक–आर्थिक व्यवस्था हो, जसले कम्युनिस्ट पार्टीको नेतृत्वमा सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्दछ। यस व्यवस्थाले उत्पादक शक्ति र उत्पादन सम्बन्धमा पुँजीवादी अन्तर्विरोधको समाधान गर्दै, श्रमलाई मानव जीवनको अभिन्न अङ्गको रूपमा स्थापित गर्छ। शोषणका विभिन्न रूपहरूको अन्त्य गर्दै, यसले राजनीतिक प्रणालीलाई राज्यको विलोपीकरणको बिन्दुसम्म डोर्याउने संकल्प राख्दछ।
ऐतिहासिक पृष्ठभूमि
कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले अघि सारेको यो राज्य सम्बन्धी मौलिक तथा वस्तुवादी अवधारणा हो। वैज्ञानिक समाजवादले राज्य र इतिहास सम्बन्धी विद्यमान अधिभूतवादी, आदर्शवादी र सारसङ्ग्रहवादी धारणाहरूलाई खारेज गर्दछ। यसले इतिहासलाई सामाजिक उत्पादन पद्धतिको जगमा उभेर ऐतिहाँसिक भौतिकवादी दृष्टिकोणले विवेचना गर्दछ र वस्तुगत निष्कर्ष निकाल्दछ।
एङ्गेल्सले आफ्नो पुस्तक “समाजवाद: काल्पनिक र वैज्ञानिक”मा भनेका छन्, “जब पूँजीवादी उत्पादन प्रणालीले अधिकांश जनसंख्यालाई बढी भन्दा बढी पूर्ण रूपले सर्वहारा बनाइदिन्छ, त्यसले त्यो शक्तिलाई पनि जन्म दिन्छ, जसलाई अनिवार्य रूपमा यो क्रान्ति गर्नु छ, अन्यथा मेटिएर जानु छ।”

वैज्ञानिक समाजवादका प्रमुख विशेषताहरू
१. ऐतिहासिक भौतिकवादमा आधारित
वैज्ञानिक समाजवाद इतिहास सम्बन्धी द्वन्द्वात्मक भौतिकवादी धारणामा आधारित छ। यसले राज्यसत्ता र इतिहासबारे सबैखाले प्रत्ययवादी, अनुभववादी, अभिभूतवादी तथा सारसङ्ग्रहवादी दृष्टिकोणहरूको खण्डन गर्दछ।
२. पुँजीवादबाट संक्रमण
पुँजीवादको गर्भबाट समाजवादी समाजको जन्म हुन्छ। संक्रमणको प्रारम्भिक चरणमा पुँजीवादका केही गुणहरू बाँकी हुन्छन्। यद्यपि ती गुणहरू उत्पादन पद्धतिको विकासकै क्रममा पैदा भएका अनिवार्य तर अस्थायी गुणहरू हुन्। समाजवादको तीव्र विकासको प्रक्रियाले पुँजीवादका अवशेषहरू क्रमशः अन्त्य गरिदिन्छ।
३. वर्ग सङ्घर्षको समाधान
पुँजीवादी व्यवस्थामा सर्वहारा वर्गले अतिरिक्त श्रमको मूल्य खोज्दछ। तर, मुनाफामा आधारित पुँजीवादी व्यवस्था त्यसका विरुद्ध खडा हुन्छ। त्यही अन्तर्विरोधका कारण पुँजीवादमा वर्ग सङ्घर्ष हुन्छ। त्यस्तो सङ्घर्षको अनिवार्य परिणाम समाजवादी व्यवस्थाको जन्म हुन पुग्छ।
४. श्रमको सिद्धान्त
समाजवादी आर्थिक–राजनीतिक प्रणाली श्रमको सिद्धान्तमा आधारित छ। आश्रित जनसंख्यालाई छोडेर बाँकी नागरिकका लागि श्रम अनिवार्य हुन्छ। वैज्ञानिक समाजवाद “क्षमता अनुसार काम र काम अनुसार दाम” को वितरण प्रणालीमा आधारित व्यवस्था हो।
५. सामूहिक स्वामित्व
पुँजीवादी व्यवस्थामा उत्पादनका साधनहरू माथि पुँजीवादी वर्गको स्वामित्व रहन्छ। तर, वैज्ञानिक समाजवादी व्यवस्थामा उत्पादनका साधनहरू माथि सामूहिक स्वामित्व रहन्छ। त्यस्तो स्वामित्वका दुई रूपहरू हुन्छन् – राजकीय स्वामित्व र सहकारीमा आधारित सामाजिक स्वामित्व।
६. श्रमको पूर्ण मूल्य
पूँजीवादी व्यवस्थामा श्रमिकले श्रमको मूल्य होइन, ज्याला प्राप्त गर्दछ। तर समाजवादी प्रणालीमा श्रमिकले श्रमको पूरा मूल्य प्राप्त गर्दछ। श्रमको आधारमा उत्पादित वस्तुहरूको वैज्ञानिक वितरण समाजवादी प्रणालीको नियम हो। समाजवादमा राष्ट्रिय उद्योगबाट प्राप्त लाभांश मजदुरकै वृद्धि विकासका निम्ति खर्च गरिन्छ।
७. आर्थिक शोषणको अन्त्य
समाजवादी व्यवस्थाले कसैमाथि आर्थिक शोषण गर्दैन। पूँजीवादी व्यवस्थामा सत्ता लिने पूँजीपति वर्ग समाजवादी व्यवस्थामा शासित वर्गको रूपमा रूपान्तरित हुन्छ। समाजवादी व्यवस्था मेहनतकश जनताको त्यस्तो राज्य सत्ता हो, जहाँ कम्युनिस्ट पार्टीले सर्वहारा वर्गको प्रतिनिधित्वको आधारमा शासनको नेतृत्व गर्दछ।
८. सर्वहारा वर्गको अधिनायकत्व
समाजवादमा पूँजीपति वर्गमाथि सर्वहारा वर्गको अधिनायकत्व र नियन्त्रण कायम गरिन्छ। तर, त्यस्तो अधिनायकत्व पूँजीपति वर्ग माथि राजनीतिक शोषण गर्ने उद्देश्यद्वारा होइन, पूँजीपति वर्गले समाजवादी व्यवस्था विरुद्ध गर्न सक्ने प्रतिक्रान्तिको खतराबाट बचाउने उद्देश्यद्वारा कायम गरिन्छ। यो अधिनायकत्व दीर्घजीवी नभएर राज्यको विलोपीकरणको प्रक्रिया सम्म लैजाने एउटा माध्यम मात्र हो।
९. शारीरिक र मानसिक श्रमको भेद अन्त्य
समाजवादको प्रारम्भिक चरणमा शारीरिक श्रम र मानसिक श्रमको भेद रहन्छ। तर श्रमको अनिवार्यताका कारण समाजवादले शारीरिक र मानसिक श्रमको दुरी क्रमशः घटाउँदै यसको भेद अन्त्य गर्दछ। शारीरिक श्रम र मानसिक श्रमको भेद अन्त्य गर्ने माध्यमको रूपमा बुद्धिजीवीहरू शारीरिक श्रमको एउटा हिस्सामा सहभागी हुन्छन्। अर्कोतिर समाजवादी व्यवस्थामा शिक्षा आम नागरिकको नैसर्गिक अधिकार हुनाले श्रमिकहरू पनि बौद्धिक कार्यमा सहभागी हुन भौतिक परिवेश निर्माण हुन्छ।
१०. मजदुर र किसान तथा गाउँ र शहरको अन्तर्विरोध अन्त्य
समाजवादी व्यवस्थाले मजदुर र किसान बीच विद्यमान अन्तर्विरोध एवं गाउँ र शहर बीचको अन्तर्विरोध पनि क्रमशः मेटाउँदै जान्छ। कृषिको औद्योगिकीकरण प्रक्रिया र राष्ट्रिय विकासमा समानताको आधारमा यस्तो अन्तर्विरोधको समाधान गरिन्छ।
११. उन्नत मानवीय र समाजवादी चेतना
वैज्ञानिक समाजवाद उन्नत मानवीय एवं समाजवादी चेतनामा आधारित हुन्छ। सांस्कृतिक क्रान्ति नै त्यस्तो क्रान्ति हो, जसले मानिसको दार्शनिक प्रणाली, सोच्ने तरिका र श्रम प्रति विश्वास पैदा गर्दछ। मानिसको अन्तर मनदेखि समानताको भावना विकसित गर्न यस्तो क्रान्तिले निर्णायक भूमिका खेल्दछ।
१२. कम्युनिस्ट पार्टीको नेतृत्व
वैज्ञानिक समाजवाद सर्वहारा वर्गको नेतृत्व कायम गरिएको शासन प्रणाली हो। त्यसको नेतृत्व कम्युनिस्ट पार्टी मार्फत अभिव्यक्त हुन्छ। कम्युनिस्ट पार्टीको बलियो नेतृत्व विना साम्यवादी समाज कायम हुन सक्दैन। कम्युनिस्ट पार्टी समाजवादको आधारभूत शर्त हो।
१३. कम्युनिस्ट समाजको पहिलो अवस्था
वैज्ञानिक समाजवाद कम्युनिस्ट समाजको पहिलो अवस्था हो। अर्थात् यो आवश्यकताको संसार हो। तर समाज त्यहीं रोकिँदैन। समाजवादले निजी सम्पत्ति अन्त्यको भौतिक आधार तयार पार्दछ। यसले राज्यको औचित्य पनि क्रमशः कमजोर हुन्छ र समाज राज्यको विलोपीकरण तर्फ अग्रसर हुन्छ। त्यसर्थ समाजवादको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी राज्यको विलोपीकरणको आधार तयार पार्नु हो।
निष्कर्ष
वैज्ञानिक समाजवाद वर्ग सङ्घर्ष, बल प्रयोगको भूमिका, सर्वहारा वर्गको अधिनायकत्व र राज्यको विलोपीकरणलाई आफ्नो प्राण ठान्दछ। यो पुँजीवादी व्यवस्थाको अन्तर्विरोधबाट उत्पन्न हुने ऐतिहासिक अनिवार्यता हो, जसले मेहनतकश जनताको मुक्ति र समतामूलक समाजको स्थापनाको मार्ग प्रशस्त गर्दछ।
यो लेख मनहरि तिमिल्सिनाको पुस्तक “समाजवादी क्रान्तिको कार्यदिशा” बाट लिइएको हो। तिमिल्सिना “मार्क्सवादी दर्शन र विश्व राजनीति” नामक किताबका प्रकाशक तथा लेखक हुनुहुन्छ।
