वाबुराम तिमल्सिना

हिन्दु अधिराज्यभर मनाइने व्रतोत्सवहरू असंख्य छन् । तिनीहरूलाई मनाउने परम्परा धार्मिक एवं सामाजिक नै बढी मात्रामा पाइन्छ । मूलतः उपर्युक्त विषयलाई मापदण्ड बनाएर वर्षभरि मनाइने पर्वहरूमध्ये तिहार (यमपञ्चक) विश्वमा छरिएर रहेका सम्पूर्ण हिन्दूहरूको अद्वितीय पर्व हो भन्नु अत्युक्ती नहोला ।
हाम्रो देश नेपाल र नेपालीहरूको परिवेशमा भने यसले दसैं पछिको दोश्रो स्थान ओगटेको पाइन्छ । वर्षभरिमा तिथीका हिसाबले पञ्चकहरू चौधवटा छन् तापनि पूजिने अथवा उल्लेख्य चाहीँ भीष्मपञ्चक र यमपञ्चक दुईवटा मात्र हुन् र अन्य पञ्चकहरू शुभकार्यका लागि ग्राह्य मानिइँदैन । यसरी पञ्चाङ्गमा उल्लिखित २७ नक्षत्रभित्र पर्ने ज्येष्ठा, मूल, पूर्वाषाढा, उत्तरषाढा र श्रावणसम्मका पाँच नक्षत्रहरूले भोग गर्ने समय नै पञ्चक मानिन्छ । हाम्रो संस्कृतिमा अन्य पञ्चकले भन्दा कार्तिक महिनाको पञ्चकले छुट्टै महत्व राखेको पाइन्छ ।
धार्मिक ग्रन्थ पुराणमा उल्लेख भए अनुसार यमराजको विशेष उपासना हुने भएकोले नै यी पाँच दिनलाई यमपञ्चक नामाकरण भएको हो भन्न सकिन्छ । यिनमा कार्तिककृष्ण त्रयोदशी, चतुर्दशी, औंसी, प्रतिपदा र द्वितीयाका दिन पर्दछन् । शास्त्रमा उल्लेख भए अनुसार यस संसारमा अदृश्य रुप लिएको यमराजको दूतका रुपमा विभिन्न पशुपन्छीहरूलाई लिईन्छ । तिनीहरूमा काग र कुकुर प्रमुख मानेर पूजा अर्चना गर्ने परम्परा रहि आएको छ । यमपञ्चकको पहिलो दिन अथवा कार्तिक कृष्ण त्रयोदशीको दिन कागको पूजा गरी भात खुवाएर वा काक वलि अर्पण गरेर यमराजलाई शुभ संदेश पुऱ्याइदिने अर्चना गरिन्छ र साँझसमयमा यमराजका लागि घरघरका विभिन्न कोणमा बत्ती बालिन्छ ।
दोश्रो दिन अथवा चतुर्दशीको दिन बिहान उठेर कसैसँग नबोली आ-आफ्ना जलाशय वा नदीमा गई अपामार्ग (दतिउन) ले दाँत माझ्ने, अमलाले नुहाउने र पवित्र भएर कर्ता कति वर्षको छ त्यतिवटा बत्ती बाली यमराजको पूजा गरिसकेपछि अँजुलीले जल अर्पण गरिन्छ । यसपछि घरआई यमराजको दूत मानिने घर वा छिमेकमा पालिएको जनावर कुकुरको पूजा गरी भात खुवाइन्छ । सोही दिन लक्ष्मीपूजाको लागि घरपरिसर सफा सुघर एवं लिपपोत गरी चौबाटोबाट पूजास्थान सम्म लक्ष्मीको पाइला बनाई साँझ समयमा पहिले कुबेर र इन्द्रको पूजा गरेपछि लक्ष्मीको पूजा हुन्छ । लक्ष्मीलाई प्रसन्न पार्ने यमगाथाको प्रतिक मानिने अथवा बलिगाथासित सम्बन्धित द्यौसी भैलो र जुवा खेल्ने गरिन्छ । जुन कुरा हाम्रो लोकसंस्कृतिमा शास्त्रसम्मत नै चलिआएको छ । प्राचिन समयमा वलित नाम गरेका दीनहीन ब्राह्मण यसैदिन नागकन्याहरुसँग जुवा खेलिरहेका समयमा लक्ष्मीको कृपा दृष्टि परेर उनीहरुको मोती, मणि सबै प्राप्त गरेका थिए भन्ने शास्त्रीय आधारमा आजसम्म हिन्दूलोकव्यवहारमा उक्त दिन लक्ष्मी पूजा गर्ने, जुवा एवं द्यौसी भैलो खेल्ने जस्ता प्रचलन रहिआएको हो । यसैले यमपञ्चक बाहेक अरुसमयमा जुवा खेल्नु कानून विपरीत मानिए पनि यो समयमा हाम्रो धर्मशास्त्रसम्मत भएकोले सरकारी तबरबाट नै छुट दिइएको पनि छ । यसैले हामीहरु यस समयमा छरछिमेक तथा टोलवासी मिलेर जुवाखेल्ने गर्दछौं ।
भोलिपल्ट वा औंसीको दिन नित्यकर्म सकेर गाईलाई साक्षत् लक्ष्मीको प्रतिमूर्ति मानी पञ्चोपचार वा षोडशोपचारले पूजा गरी मानिसलाई खान तयार पारिएका परिकार वा भात खुवाइन्छ । यसैदिन बेलुका नेवार मानिन्छ । अथवा सम्प्रदायमा म्हः पूजा अर्थात् आत्मदेवको पूजा गर्ने छुट्टै साँस्कृतिक प्रचलन पनि छ । तिहारको चौथो दिन अधवा कार्तिक शुक्ल प्रतिपदाको दिन गाईगोठ नजिक गोबरको गोबर्द्धनपर्वत बनाई फलफूलका वृक्ष रोपी ध्वजापताकाले श्रृंगारपटार गरी पर्वतपूजा गरिसकेपछि गोरुको पूजा हुन्छ, भात पिठो खुवाइन्छ उक्त दिन गोरुलाई काममा लगाइँदैन वा जोत्ने काम गरिदैन । जुनकुरा हिन्दुधर्म शास्त्रसम्मत नै मानिन्छ ।
यमपञ्चकको अन्तिम दिन अथवा भाईटीकाको दिन बिहान नित्य कर्मसकेर यम पूजा गरिन्छ । प्राचीन समयमा सूर्यपुत्री यमुनाले आफ्ना भाइ यमराजको दीर्घायु तथा आरोग्यका लागि यमराज तथा भाइको पूजाअर्चना गरेकीले आजसम्म हिन्दुनारीहरू आ-आफ्ना दाजुभाइहरूमा दीर्घायु प्राप्त होस् भन्ने कामना गरी सर्वप्रथम दियो, कलश, गणेशस्थापना गरी पूजा गर्दछन् । त्यसपछि यमराजस्वरुप बिमिराको पूजा गर्दछन् । यसपछि भाइपूजा गर्दछन् र नानाप्रकारका फलफूल मिष्ठान्न भोजन गराँउछन् भने भाइले पनि आफ्ना दिदीबहिनीहरुलाई यथाशक्य दक्षिणा दिन्छन् ।
यसरी पाँचदिनसम्म शास्त्रीय मान्यतालाई जीवन्तता प्रदान गर्दै लौकिक विधिविधानले मनाउँदै आइएको पर्व प्राचीनसमयदेखि आजसम्म हिन्दुसंस्कृतिको एक अभिन्न अङ्ग बन्दै आइरहेको पनि छ । पाश्चात्य लोकसँस्कृतिको क्रमशः प्रवेशहुँदैजाँदा यसमा केही ह्रास आएको छ भन्ने भनाई सँस्कृतिविदहरूको छ भने आधुनिक पुस्ताले हाम्रो संस्कृतिमा विद्यमान यस्ता कैयौं व्रतोत्सव एवं मान्यताहरूलाई चटक्क छाड्न नहुने तर केही सुगम र कम खर्चिलो, सामाजिक तडकभडक रहित गर्दै लैजानुपर्ने कुरा औंल्याएकाछन् । यसरी हिन्दूसमाजमा परापूर्व समयदेखि अविच्छिन्न रुपमा चलिआएको आधुनिक व्यवहार विज्ञान आयु-आरोग्य र ऐश्वर्य जस्ता मानवीय जीवनको महत्वपूर्ण विषयसँग अभिन्न सम्बन्ध राख्ने अक्षद्य संस्कृतिको पहिचान गराउनु, राष्ट्रिय चाडका रुपमा मनाउनु आदि कुरा यसको प्रमुख विशेषता मान्न सकिन्छ । अतः पाँचदिन सम्म मनाइने यस उत्सवको प्रथमदिन कागतिहार दोश्रो दिन कुकुर तिहार र लक्ष्मीपूजा, तेश्रोदिन गाइतिहार चौथोदिन गोरुतिहार र पाँचौदिन भाइतिहार नामाकरण गरिएको पाइन्छ । यो पर्वका विषयमा उल्लेख गरिएको बाहेक केही भन्नुपर्दा आधुनिक समाजमा यसप्रति अझबढि आस्था एवं श्रद्धा र अन्वेशणकार्य भइरहेको पनि पाइन्छ । यसलाई हामी सामाजिक तडकभडकको रुपमा नमनाएर केवल हिन्दु परम्परामा आधारित तबरले मनाएर यसको प्राचीन गरिमा कायम राख्न सक्छौं ।
