५ साउन, काठमाडौं । काठमाडौं उपत्यकाकाको फोहर व्यवस्थापनको काम आजदेखि रोकिएको छ ।
यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्तासम्म फोहोर ढुवानीको काम बन्द गरिएको हो ।
आजदेखि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिकाको वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् । बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहोरको गाडी सन्चालन हुँदै आएका थिए ।
हरेक दिन काठमाडौं उपत्यकाबाट एक हजार २०० मेटि्रकटन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी काठमाडौं महानगरपालिकाबाट ५०० मेटि्रकटन फोहर निस्किने गर्दछ । निजी र काठमाडौं महानगरपालिकाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् ।
हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माण गरिएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिन्छ ।