पाल्पा क्षेत्र नं. २ मा सोमप्रसाद पाण्डेयको २५ बुँदे प्रतिबद्धता सार्वजनिकपर्यटन, कृषि, पूर्वाधार र रोजगारी मुख्य प्राथमिकतामा

पाल्पा । नेपाली कम्युनिष्ट पार्टी का तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार सोमप्रसाद पाण्डेय ले पाल्पाको समग्र विकासलाई केन्द्रमा राख्दै २५ बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ। तानसेनमा आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले पर्यटन, कृषि आधुनिकीकरण, पूर्वाधार विस्तार, शिक्षा–स्वास्थ्य सुदृढीकरण र रोजगारी सिर्जनालाई प्रमुख एजेन्डा बनाएको स्पष्ट पार्नुभयो।


पर्यटनमा दीर्घकालीन ‘मास्टर प्लान’

पाण्डेयले तानसेन लाई ऐतिहासिक मौलिकता जोगाउँदै ‘हिल स्टेसन’का रूपमा विकास गर्ने योजना अघि सार्नुभएको छ। परम्परागत टेलिया र भक्तपुरे इँटाजस्ता सामग्रीको प्रयोगमार्फत नयाँ–पुराना घरको मौलिक स्वरूप संरक्षण गर्दै तानसेनलाई आकर्षक पर्यटकीय सहर बनाउने प्रतिबद्धता जनाइएको छ।

  • सिद्धबाबादेखि राम्दीघाट सम्म धार्मिक–सांस्कृतिक पर्यटन सर्किट निर्माण
  • राष्ट्रियस्तरको ‘मगर संग्रहालय’ र ‘मगर गाउँ’ स्थापना
  • श्रीनगर डाँडा मा नेपालकै ठूलो बुद्ध मूर्ति स्थापना
  • विहारहरूको जीर्णोद्धार तथा तीर्थस्थल विकास
  • माडीमा माण्डव्य आश्रम, बुडुवा र माण्डव्य ताल, रुरुक्षेत्र मा ऋषिकेश मोक्षधाम सरोवर निर्माण
  • ‘एङ्ग्लो–नेपाल वार गार्डेन’ र ‘युनिफिकेसन ट्रेल’ गुरुयोजना
  • ऐतिहासिक रणउजेश्वरी भगवती मन्दिर पुनर्निर्माण दुई वर्षभित्र सम्पन्न
  • ३५०० सिट क्षमताको अन्तर्राष्ट्रियस्तरको स्मार्ट सभाहल निर्माण
  • रानीमहल, बगनासकाली र तानसेन हिल समेटेर अन्तर्राष्ट्रिय साइकलिङ ट्र्याक सञ्चालन

शिक्षा र स्वास्थ्यमा स्तरोन्नति

शैक्षिक क्षेत्रलाई पश्चिम नेपालकै केन्द्र बनाउने लक्ष्यसहित:

  • त्रिभुवन बहुमुखी क्याम्पस लाई अनुसन्धान केन्द्रका रूपमा विकास
  • तानसेन बहुप्राविधिक क्याम्पस र दमकडा क्षेत्रलाई आवासीय शैक्षिक हब
  • पाल्पा अस्पताल लाई अत्याधुनिक पूर्वाधारसहित विशेषज्ञ सेवा केन्द्र
  • युनाइटेड मिसन अस्पताल लाई अन्तर्राष्ट्रियस्तरको मेडिकल रिसर्च सेन्टरमा रूपान्तरण

पूर्वाधार विकासमा समयसीमा

  • सिद्धार्थ राजमार्ग को बुटवल–तानसेन–रिडी खण्ड ३ वर्षभित्र स्तरोन्नति
  • हार्थोक–छहरा सडक २ वर्षभित्र कालोपत्रे
  • दोभान–भोटेगाउँ–मरक–काशीनगर–दुर्गुट–बतासे–सातमुडे–गुल्मी सडक निर्माण
  • भूतखोला–कर्चल, जगात–गोठादी, मायाथोक–देवदह, माडीफाँट–हर्दिनिया लगायत दर्जनौं सडक सम्पन्न
  • ग्रामीण क्षेत्रमा बाह्रै महिना यातायात सञ्चालन सुनिश्चित

कृषि आधुनिकीकरण र युवा उद्यमशीलता

पाल्पालाई कृषि उत्पादनको ‘पकेट जोन’का रूपमा विकास गर्ने योजनाअनुसार:

  • सुन्तला, अदुवा, खुर्सानी, बेसार, अलैँची, एभोकाडो, ड्रागन फ्रुट, कफीको पकेट क्षेत्र घोषणा
  • लघु उद्योग स्थापना र बजारीकरणमार्फत मूल्य अभिवृद्धि
  • बगनासकालीमा मकै बिउ उत्पादन जोन
  • बाँदर, बँदेल, दुम्सी, चितुवाबाट हुने क्षति न्यूनीकरणका लागि कानुनी व्यवस्था र क्षतिपूर्ति
  • बाँझो जमिन उपयोग गरी व्यावसायिक कृषि विस्तार

बसाइँसराइ रोक्ने समग्र रणनीति

तानसेनमा पर्यटन र शिक्षाबाट आयआर्जन, तिनाउमा खानेपानी र जडीबुटी, रैनादेवी छहरा र रिब्दीकोटमा मसला तथा सुन्तलाजात उत्पादन विस्तार गरी स्थानीय रोजगारी सिर्जना गर्ने योजना अघि सारिएको छ। राजमार्ग आसपास वृक्षारोपण र फलफूल बगैंचा विकासमार्फत सौन्दर्यकरणलाई समेत प्राथमिकता दिइएको छ।


सुशासन र समृद्धिको प्रतिबद्धता

राष्ट्र, राष्ट्रियता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरण, राजनीतिक स्थिरता, सुशासन र सामाजिक न्यायप्रति प्रतिबद्ध रहेको पाण्डेयले पाँच वर्षभित्र शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र विद्युत सेवाको पहुँच सुनिश्चित गर्दै पाल्पा क्षेत्र नं. २ लाई समृद्धिको नमूना क्षेत्र बनाउने दाबी गर्नुभयो।

कार्यक्रम यादव बहादुर रायमाझी को अध्यक्षता र अनिलकिशोर घिमिरे को सञ्चालनमा सम्पन्न भएको थियो।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *