नवौं राष्ट्रिय खेलकुदका लागि खेलस्थलको टुंगो साउन तेस्रो सातासम्म लाग्ने राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले बताएका छन्। गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुदका केही खेलका खेलस्थलबारे अझै अन्योलता कायमै छ। हक्की र रग्बी गण्डकी प्रदेशमै गराउन सकिने तयारीमा राखेप छ भने स्वीमिङ र सुटिङको खेलस्थलको टुंगो नहुँदा काठमाडौंमै हुने सम्भावना छ।
खेलस्थल साउनको तेस्रो सातासम्म टुंगो लाग्ने घिसिङले बताएका छन्।
त्यस्तै नवौं राष्ट्रिय खेलकुदको कार्यकारी समितिको बैठकले विभिन्न १२ विषयगत उपसमिति गठन गर्ने निर्णय गरेको छ। कार्यकारी समितिका संयोजक राखेपका सदस्यसचिव टंकलाल घिसिङको अध्यक्षतामा बुधबार बसेको बैठकले १४ मध्ये १२ उपसमिति गठन गर्ने निर्णय गरेको हो। उपसमिति संयोजकसँगै सचिव पनि तोकिएको छ।
बाँकी दुई उपसमिति सुरक्षा प्रबन्ध र अनुसन्धान उपसमिति चाँडै गठन गरिने घिसिङले जानकारी दिए।
समारोह उपसमितिको संयोजकमा राखेपका सदस्य एकेन्द्र कुँवर र सचिवमा प्रशासकीय अधिकृत शारङ्गिन् निरौला, प्राविधिक उपसमितिको संयोजकमा नायब वरिष्ठ प्रशिक्षक हिमालराज दाहाल र सचिवमा नायब वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मा, खेलस्थल व्यवस्थापन उपसमितिको संयोजकमा राखेपका सदस्य राजेश गुरुङ र सचिवमा प्रशिक्षण प्रमुख कृष्णप्रसाद तिमिल्सिना, बसोबास व्यवस्थापन उपसमितिको संयोजकमा राजकुमार थापा र सचिवमा प्रशासकीय अधिकृत चन्द्रकुमार राई, अनुशासन उपसमितिको संयोजकमा पेमा लामा र सचिवमा कानुन शाखाका प्रमुख नारायणराज अर्याल तथा स्वास्थ्य उपसमितिको संयोजकमा डा. बुलन्द थापा र सचिवमा ज्ञानेन्द्रविक्रम शाह रहेका छन्।
त्यस्तै यातायात व्यवस्था उपसमितिको संयोजकमा राखेपका सदस्य प्रकाश कुसारी र सचिवमा पौडी शाखाका प्रमुख देवराज कटुवाल, प्रचारप्रसार उपसमितिको संयोजकमा दिपेन्द्र विष्ट र सचिवमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख खुसराज दाहाल, खेल सामाग्री तथा पोशाक व्यवस्थापन उपसमितिको संयोजकमा राखेपका सदस्य अन्जन धमला र सचिवमा आपूर्ति तथा भण्डार शाखाका प्रमुख सुजन खतिवडा, स्रोत परिचालन उपसमितिको संयोजकमा वाग्मती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी र सचिवमा संघ संस्था समन्वय शाखाका प्रमुख सरोजकुमार पोखरेल, स्वयंसेवक उपसमितिको संयोजकमा राखेपका सदस्य जनक बर्तौला र सचिवमा प्रशासकीय अधिकृत लीलाराम बस्नेत तथा एन्टी डोपिङ उपसमितिको संयोजकमा डा. नमिसमान प्रधान र सचिवमा प्रशासकीय अधिकृत दोबे तामाङ छन्।
राष्ट्रिय खेलकुदका अधिकांश खेल पोखरामा हुने सदस्यसचिव घिसिङले बताए। यसअघिका राष्ट्रिय खेलकुदमा विकेन्द्रीकरणका लागि भनेर बिभिन्न जिल्लामा विभिन्न खेल खेलाउने अभ्यास चलेको भए पनि यसपटक व्यवस्थापनमा जोड दिने घिसिङले तर्क गरे।
‘विकेन्द्रीकरणको नाममा अव्यवस्थित काम गर्ने छैनौं। साउनको मध्यसम्म खेलस्थलको टुंगो लाग्छ। गण्डकी प्रदेशको पोखरामा धेरै खेल हुनेछ’, सदस्यसचिव घिसिङले भने, ‘खेलस्थलमा यसपटक सबै आधारभूत आवश्यकता पूरा गरिने छ। खेलाडीको आवास, स्वास्थ, होटल, खेलस्थललगायत सबै पक्षलाई व्यवस्थित गर्नेछौं।’