एमालेको जित सुनिश्चित छ, मतदाताले एमाले नै रोज्छन्: गैरे

पाल्पा। नेकपा (एमाले) बाट पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेदवार ठाकुरप्रसाद गैरेले आगामी निर्वाचनमा आफ्नो पार्टीले ३० हजारभन्दा बढी मत ल्याएर विजयी हुने दाबी गरेका छन्। निर्वाचन प्रचार प्रसारलाई तीव्र पार्दै घरदैलोमा पुगेका गैरेले राष्ट्रवाद र विकासको एजेन्डामा नेकपा (एमाले) अरू राजनीतिक शक्तिभन्दा बलियो रहेको बताए।

रिब्दीकोट गाउँपालिकाका ठिमुरे,  बल्घा, ढुस्टुङ, र लघुवा जस्ता क्षेत्रका मतदाताहरूसँगको भेटघाटमा चुनावी प्रचारका क्रममा गैरेले यी विचार व्यक्त गरेका हुन्। मतदाताहरूलाई आफ्नो भविष्यको योजना सुनाउँदै नेता गैरेले अघिल्लो कार्यकालमा सोचेजति काम गर्न नसकेको अनुभव सुनाए। उनले भने, “पहिले निर्वाचित भएपछि जनताको सेवा गर्ने तीव्र इच्छा हुँदाहुँदै पनि राजनीतिक अस्थिरताका कारण पूर्ण कार्यकाल काम गर्न सकिनँ। यसपटक ती अधुरा कार्यहरू पूरा गर्ने र पाल्पाको मुहार फेर्ने संकल्प लिएर तपाईंहरूको दैलोमा आएको छु।”

रिब्दीकोटको लघुवा क्षेत्रमा कृषि क्षेत्रको आधुनिकीकरण भइरहेकोमा विशेष खुसी व्यक्त गर्दै उम्मेदवार गैरेले कृषिमा आधारित स्वरोजगार प्रवर्द्धनलाई उच्च प्राथमिकता दिने बताए। उनले शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधार विकासमा महत्त्वपूर्ण नीतिगत सुधार आवश्यक रहेको र यो नेकपा (एमाले) मार्फत मात्र सम्भव हुने कुरामा जोड दिए।

उनले रिब्दीकोटवासी जनताले सधैं नेकपा (एमाले) को सिद्धान्तलाई साथ दिएको र एमालेले विकासका लागि सधैं सहकार्य गरेको बताए। पूर्व सांसद समेत रहेका गैरेले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा नीतिगत परिवर्तन लागू गरी गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने आफ्नो योजना सुनाए। उनले सचेत मतदाताले राष्ट्रवादी पार्टीलाई रोज्न हिचकिचाउने छैनन् भनी आत्मविश्वास व्यक्त गरे। “जनताले विकास र राष्ट्रवादको पक्षमा मतदान गर्नेछन्,” उनले थपे, “यस देशको विकास र समृद्धिका लागि नेकपा (एमाले) नै एक मात्र भरपर्दो शक्ति हो भन्ने कुरा जनताले बुझिसकेका छन्।”

निर्वाचन प्रचार अभियानमा एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो। मतदाताहरूले पनि उम्मेदवार गैरेलाई स्थानीय सडक, खानेपानी र कृषिको व्यवसायीकरणमा ध्यान दिन सुझाव दिएका थिए।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *