काठमाडौं । नेपालमा काम पाइएन, केही संभावना छैन भन्दै दैनिक १५ सय जना बैदेशिक रोजगारीका लागि विदेसिन्छन् । तर, हेर्दा सानो जस्तो लाग्ने काम गरेर पनि मनग्य आम्दानी गर्ने र आर्थिक उन्नती गर्नेहरु छन् । त्यस्तै उन्नती गर्नेमा पर्छिन् अलि मियाँ । उनी मकै पोलेर बेच्ने काम गर्छिन्, त्यसैबाट मासिक ५० हजार रुपैयाँ कमाई रहेकी छिन् ।
२०६६ सालमा वीरगञ्जबाट काठमाडौँ आएर मकै पोलेर बेच्ने काम शुरु गरेकी मियाँले ९ वर्ष कै बीचमा १ छोरा र १ छोरीको लालनपालन, शिक्षादिक्षासँगै चन्द्रागिरीमा ४ आना जग्गा जोड्न सफल भएकी छन् । निरन्तर संघर्ष गर्दा सफल भइने रहेछ–उनी भन्छिन् ।
२०६५ सालमा श्रीमानले छाडेपछि उनी एक्लो भइन् । त्यतिबेला उनको १ छोरी र छोरा जन्मिसकेका थिए । श्रीमानले छाडे पछि गाउँमा नै केही गर्न सकिन्छ कि भनेर उनले प्रयास गरिन्, तर केही गर्न सकिनन् । उनी भन्छिन्–गाउँमा केही गर्न नसकेपछि, छोरा छोरी पाल्न गाह्रो भएपछि २०६६ सालमा काठमाडौँ छिरेकी हुँ ।
काठमाडौँ आएसकेपछि सानोतिनो जागिरका लागि भेटेका र देखेका सबैलाई हारगुहार गरिन्, तर उनका लागि कोही कसैले जागिर दिएन, अनि उनले मकै पोलेर बेच्ने विचार गरिन् र काठमाडौँको स्वीचाटारमा मकै पोलेर बेच्ने काम शुरु गरिन् । उनी भन्छिन्–‘शुरुमा त मकै पोलेर गुजार चलाउन पनि धौ धौ भयो, बिस्तारै आम्दानी बढ्न थालेपछि भने अहिले सजिलै छ ।’
दिनहरु बित्दै गए, उनले यो काम शुरु गरेको पनि ९ वर्ष भइसकेको छ । छोरा छोरी पनि हुर्किएका छन् । उनले मकै पोलेर कमाएको पैसाबाट छोराछोरीलाई बोर्डिङ स्कूलमा पढाएकी छिन् । छोराछोरीले स्कुल छुट्टी भएर आएपछि आमाको काममा सहयोग गर्छन्, उनी भन्छिन्– बेलुका ८ बजेसम्म मकै बेच्ने काम गर्छु ।
स्वीचाटारबाट उनले मकै पोल्ने काम थालेकी हुन्, अहिले भने उनी कंलकी चोकमा मकै पोलेर बेच्छिन् । उनी भन्छिन्-पहिले त धेरै गाह्रो थियो, अहिले अलि सजिलो छ । छोराछोरीलाई राम्रो शिक्षा दिएर ठूलो मान्छ बनाउने सपना बोकेकी छन् उनले । उनको छोरी १३ वर्ष र छोरो १४ वर्षका छन् । छोरी कक्षा ८ मा र छोरा ७ कक्षामा पढ्दै छन् । उनले मकै पोलेर बेचेको पैसाले काठमाडौंको चन्द्रागिरीमा ४ आना जग्गा पनि किनेकी छिन् ।
जाडो समयमा प्रति दिन २०० घोगासम्म मकै बिक्री हुुने गरेको उनी बताउँछिन् । तर, गर्मी महिनामा भने उनको व्यापार त्यति हुँदैन् । उनी भन्छिन्-‘गर्मी समयमा भने ५० घोगा पनि बिक्न कठिन हुन्छ ।’ अहिले उनको दैनिक आम्दानी दुई हजार हाराहारी हुन्छ । मकै कालीमाटी बजारबाट ल्याउने गरेको बताउँछिन्, प्रति घोगा १० रुपैयामा खरिद गछिन् र त्यसलाई पोलेर २० रुपैयाँमा बेच्ने गरेको बताउँछिन् ।
छोरा छोरी साना हुँदा अलि गाह्रो थियो, बिहान जाडोमा गएर मकै ल्याउँदा दुःख हुन्थ्यो, अहिले त बच्चा पनि हुर्किए, अब त्यति दुःख छैन-उनले भनिन् । विदेशमा गएर तातो घाममा कडा संघर्ष गर्नु भन्दा जति दुःख भएपनि आफ्नै देशमा काम गर्दा आनन्द आउने गरेको उनी बताउँछिन् ।
ktm वरपरका खबरहरु
Newsenepal द्वारा लिखित अन्य खबरहरु