काठमाडौं। रामेछापका लिलाबहादुर बस्नेत बिहानै काठमाडौंको कालिमाटीमा पुग्छन्। कालिमाटीबाट फलफूल ठेलामा बोकेर सिधै बानेश्वर कोठामा आउँछन्। कोठामा उनको श्रीमतीले खाना पकाएकी हुन्छिन्। खाना खाएर बिहान ८÷९ बजे सोही ठेला धेकेल्दै बजारतिर जान्छन्। यो नै हो लिलाबहादुरको दैनिकी।
कोटेश्वर, बानेश्वर, अनामनगरलगायतका ठाउँमा लिलाबहादुरलाई स्थायी रुपमा बस्नेहरु धेरैले नजिकबाट चिनेका छन्। मान्छेले मात्रैं होइन, गल्ली गल्लीले पनि लिलाबहादुरसंग परिचित छन्। उनले ९ वर्षदेखि त्यो ठाउँलाई प्रेम गरेका छन्।
१० वर्ष अघि ‘गरे के हुँदैन’ भन्ने स्वभावका लिलाबहादुर आफ्नै देशमा बसेर पनि आफ्नो जिविकोपार्जन गर्न सकिन्छ भन्दै काठमाडौं छिरेका थिए। काठमाडौंको सबै माहोल बुझ्दै जाँदा उनले केही समयमै व्यवसाय गर्ने योजना बनाए। थोरै लगानीमा अलि बढी नाफा हुने भन्दै उनले ठेलामा फलफूल व्यवसाय गर्न थाले।
‘काम गरे कोही सानो हुँदैन’ लिलाबहादुरले भने, ‘मेरै सहपाठीहरुले पनि मलाइ त्यो बेला ठेलामा तरकारी तथा फलफूल बेचेको भन्दै गिज्याउने गर्थे। तर मैले हार खाइन।’ उनले भने, ‘त्योे बेलामा हार नखानुले मलाइ जिउन सिकाएको छ।’
अहिले लिलाबहादुरका सहपाठीको भन्दा लिलाबहादुरको परिवारले एकदमै खुशीयाली जीवन बिताइरहेको छ। ‘विदेशीएका सहपाठी आफू एकतिर र परिवार अर्कोतिर हुन्छन्, परिवारको सुखदुःखमा सहयात्री हुन सक्दैनन्, त्यो अवस्था भन्दा त मेरो कति माथि हो कति’ लिलाबहादुरले भने, ‘आफ्नो भनेको आफ्नै हुन्छ।’ आफ्नो देशमा सानो काम गर्दा र अर्काको मुलकमा ठूलो काम गर्दा पनि अवस्था हुन्छ,’ लिलाबहादुरले भने।
‘म सुरुमा कामको खोजीमा काठमाडौंमा आए, त्यो बेला कोइपनि आफ्नो थिएन, जब काम गर्दा आत्मबल बढ्दै गयो, त्यसपछि केही असहज भएन।’ लिलाबहादुरले भने, ‘अहिले छोराछोरीलाई निजी विद्यालयमा पढाइ रहेको छु, गाउँमा घर बनाउँदै छु। ठेलाबाट सटर लिइसके। मासिक १५ हजार त सटरकै तिर्छु,। यो नै हो मेरो सफलता।’
सुरुमा लिलाबहादुर बस्नेतलाई ठेलामा फलफूल बेच्दा एकदमै गाह्रो हुन्थ्यो। कैयौं दिन त उनी महानगरपालिकाको प्रहरी कार्बाहीमा परे। महानगरपालिकाले प्राय गरेर बेलुका ५ बजेपछि मात्र चोकहरुमा सामानहरु बिक्री गर्नलाई खुला गर्छ।
दिनभर अन्य काम गर्ने र साँझपख १÷२ घण्टा व्यापार गर्नेहरुलाई त एकदमै सजिलो हुन्छ तर सामान्य व्यापार गर्नेहरुलाई भने बेलुका ५ बजेपछि पसल थाप्न अनुमति दिदाँ एकदमै मर्का पर्न जान्छ।
ठेलामा गुडाउँदै फलफूल, तरकारी, चटपटे, पानीपुरी बेच्नेहरुले दिनभर बजार डुल्दै बिक्री गर्ने गर्छन्। कहिलेकाँही महानगरपालिकाका प्रहरीहरुले देख्ने हो भने, सबै सामानहरु कुल्चेर जान्छन् या खोसेर गाडीमा बोकेर जान्छन्, फिर्ताको भने आशा नै गरिन्न।’ लिलाबहादुरले भने, ‘पर महानगरका पुलिस देख्नेवित्तिकै वर भाग्नुपर्छ।’
यो अवस्था पार गर्दै अहिले लिलाबहादुरले मासिक १५ हजार भाडा तिर्ने गरी एउटा सटर लिएका छन्। उनले फलफूल मात्र बेच्छन्। सिजन अनुसार सबै आइटम विक्री गर्ने उनी सबै भन्दा बढी सुन्तला बेचेको सुनाउँछन्।
डिसी नेपालसंग कुरा गर्दै उनले भने, ‘मैले यो पेशा सुरु गरेको ९ वर्षबढी भयो। सबै प्रकारका फलफुलको सिजन अनुसार हेर्ने हो भनेपनि मैले बढीजसो सुन्तला नै बिक्रि गरेको छु।’ आप, स्याउ, केरा, लिची, अनार, अम्बा, भूँइकटहरलगायतका फलफूलका विभिन्न आइटम बेचेपनि सबैभन्दा बढी हिउँदेयाममा नै सुन्तलाको व्यापार गरेको उनले बताए।
लिलाबहादुर समाजमा आफूजस्तै युवाहरु वेरोजगार छु भन्दै बसेकोमा दुःखी हुन्छन्, भन्छन्, ‘काम गरेर खानेहरुका लागि जे पनि हुन्छ, नेपालमा काम नै पाइदैन, विदेश नगइ हुदै हुँदैन भन्नेहरुका लागि आफ्नो सिकाइ सिकुन् भन्ने चाहन्छन् उनी। ‘नेपालका रोजगारको वातावरण आफैंले सिर्जना गर्नुपर्छ, राज्यले त त्यसमा सहकार्य मात्र गर्ने हो।’ उनले भने, ‘जुनसुकै पेशामा इच्छाशक्ति भएर काम गर्ने हो भने पक्कै पनि सफल भइन्छ।’ आम युवाहरुले यो सोच्न जरुरी छ।
प्रस्तुति:भूमिराज 'पिठातोली'
ktm वरपरका खबरहरु
जीवन श्रेष्ठ द्वारा लिखित अन्य खबरहरु