• नरेश फुँयाल

    प्रवलको डिजाइन मिसेल ओबामादेखि वियोन्सेसम्म


    प्रवलको डिजाइन मिसेल ओबामादेखि वियोन्सेसम्म

    काठमाडौं । तीन दिनअघि हलिउडबाट प्रवल गुरुङ कलिउड ओर्लिंदै थिए । ठिक त्यही दिन प्रवलका लागि विश्वचर्चित गायिका वियोन्सेले सरप्राइज गिफ्ट गरिन् । त्यसलाई प्रवलले आफ्नो जिन्दगीको एक उत्कृष्ट क्षणका रुपमा ग्रहण गरेका छन् । र, आफ्नो ट्विटर एकाउन्टमा लेखे, “जब रानीले तिम्रो सुट लगाउँछिन्, उनीप्रति नमन गर्न मन लाग्छ ।”
    यता प्रवलले काठमाडौं टेक्दै गर्दा उता हलिउड सिंगर वियोन्सेले टुलिप स्लिभ, टेलर्ड ज्याकेट र ट्राउजर लगाइन् र आफ्नो इस्न्टाग्रममा फोटो पोष्ट गरिन्, जुन प्रवलले वियोन्सेका लागि तयार पारिदिएका थिए । 

     

    बिहीबार गोधुली साँझमा तिनै प्रवल पाटन दरबार स्क्वायरमा आफ्ना फ्यानफलोइङ र फेसन डिजाइन लभरहरुका बीचमा भेटिए । त्यहाँ उनले आयोजकको प्रश्नको सम्बोधनमात्रै गरेनन्, सहभागीका जिज्ञासा पनि मेटाए । आफ्नो अनुभव र सपना सुनाए । जिन्दगीमा सपना भर्खर पूरा हुन थालेको बताए । दुनियाँले उनलाई करिअरकै पिक प्वाइन्टमा पुगेको अथ्र्याइरहेका बेला प्रवलले भने, “भर्खर शुरु भएको छ, गर्न धेरै बाँकी छ । हेर्दै जाऊँ, कहाँसम्म पुगिन्छ ।”

    प्रवलले त्यहाँ वियोन्सेसँग जोडिएको घटना सुनाए, “एउटा ठूलो कन्सर्ट थियो । त्यहाँ मलाई असाध्यै मनपर्ने गायिका वियोन्से सारा विश्वले मन पराएको गीत ‘ड्रंक इन लभ...’ गाइरहेकी थिइन् । उनी स्टेजबाट दर्शकतिर फर्किएर गीत गाइरहेकी थिइन् । म स्टेजबाट नजिकै ठिक उनी उभिएको अगाडि डान्स गरिरहेको थिएँ । उनले मलाई हेरिन् । हुन त उनले मलाई हेरेकी होइनन्, म भएतिर हेरेकी हुन् । तर मलाई त्यो बेला लाग्यो, मेरो फेवरेट सिंगरले मलाई हेरिन् । मेरा आँखाबाट तरतररर...आँसु चुहिए ।” 

    तिनै गायिका हुन् वियोन्से, जो अहिले प्रवलको डिजाइन लगाइरहेकी छन् ।  

    प्रवल भन्छन्, “उनी मेरा लागि सबथोक हुन् । उनी काला समुदायबाट आएकी सक्सेस लेडी हुन् । सक्सेसमात्रै पनि होइनन्, धेरै धनी पनि हुन् । उनी मेरा लागि प्रेरणा हुन् । जोसुकै सेलिब्रिटी होस् उसको शरीर कस्तो छ, मोटो, पातलो वा कालो अथवा गोरो त्यसले मलाई असर गर्दैन । उसको ट्यालेन्ट के हो र त्यसले कसलाई प्रभाव पारेको छ, त्यो मेरो प्रेरणा हो ।”  

     

    प्रियंका चोपडा

     

    बलिउड अभिनेत्री प्रियंका चोपडाले पनि प्रवलको डिजाइन ड्रेस लगाएकी छन् । “बलिउडको कलाकार हलिउडमा गएर के गर्छ र भन्थे सबैले । तर उहाँ जस्तो आँटिलो मान्छे मैले आजसम्म भेटेकै छैन । उनी जति सुन्दर छिन्, त्यति नै प्रतिभावान र नम्र पनि छिन्,” प्रवल भन्छन्, “म बिरामी भएको थाहा पाएपछि उहाँले मलाई खिचडी पकाएर मुमालाई पठाइदिनु भएको थियो । मैले मेरी मुमालाई भनेको थिएँ, यस्तो पनि हुँदोरेछ !”

    ‘कलरफुल सेलिब्रेसन नै महिला इम्पावरमेन्टको पावर हो’ भन्ने थिममा प्रवलले प्रियंकालाई ड्रेस डिजाइन तयार पारिदिएका थिए । उनी हाँस्दै भन्छन्, “सायद अहिले यही ड्रेस लगाएर हातमा सानो ब्याग बोकेर न्युयोर्कमा घुम्दै हुनुहुन्छ होला उहाँ ।” 

     

    मिसेल ओबामा
    फेसन डिजाइन पढिरहेका थिए प्रवल । डिजाइन पनि शुरु गरेका थिए । हलिउडका सुपरहिट मोडल तथा एक्टर–एक्ट्रेससम्म उनको विस्तारै पहुँच पुग्न थालेको थियो । उनका डिजाइन लगाएर मोडलहरु ¥याम्पमा उत्रिन थालेका थिए । प्रवल अमेरिकामा भएपनि उनको परिवार नेपालमै थियो । उनी हप्तामा चार–पाँचपटक आमालाई फोन गर्थे । पहिलो–पहिलो सफलताको उत्साह थियो । सुनाउँथे, “आमा, आज मेरो डिजाइन एक्टर जिम्मी मोरले लगाइराछ नि !”

    आमाको प्रतिक्रिया हुन्थ्यो, “ए हो र ?”

    धेरै भनिन् भने, “बधाई छ, भेरी गुड ।” 

    प्रवललाई मनमनै लाग्थ्यो, आमालाई त्यो मोडल कति हिट छ भन्ने के थाहा ? 

    उनले एकदिन भनिन्, “तर, छ नि त्यहाँको फष्ट लेडी, उसको कुरै गज्जबको छ । तेरो लक्ष्य उसलाई तेरो डिजाइन लगाइदिनु हुनेछ ।”

    प्रवल आफ्नो डिजाइन फलानोले लगाएको भन्दै सुनाउँथे । आमाले खासै वास्ता गर्दिन थिइन् । औपचारिकताको स्वरमात्रै बोले जस्तो लाग्थ्यो उनले भन्ने ‘बधाई र गुड ।’

     

    “तर, छ नि त्यहाँको फष्ट लेडी, उसको कुरै गज्जबको छ । तेरो लक्ष्य उसलाई तेरो डिजाइन लगाइदिनु हुनेछ” भनेको एक वर्षपछि फेरि एक दिन प्रवलले आज फलानोले मेरो डिजाइन लगायो नि भन्दा भनिन्, “अब तैंले तेरो डिजाइन मिसेल ओबामालाई लगाइदिएपछि यसबारे कुरा गरौंला ।”

    प्रवलले आमाले आफूमाथि देखेको र पालेको सपना मनमा राखे र त्यसलाई आफ्नो पनि सपना बनाएर देख्न थाले । सपना आमा र छोराको साझा सपनामा रुपान्तरण भयो । आमाको त आशिर्वाद मात्रै थियो, लड्नु त प्रवलले नै थियो । 

    काला समुदायबाट अमेरिकामा राष्ट्रपति हुने बाराक ओबामा पहिलो व्यक्ति थिए । मिसेल ओबामा काला समुदायबाट फष्ट लेडी थिइन् । उनी फष्ट लेडी मात्रै थिइनन्, सामाजिक काम पनि गर्थिन् ।

    “सि इज अमेजिङ मोम्मेन्ट । उहाँ त्यस्तो ड्रेस र डिजाइनको खोजीमा हुनुहुन्थ्यो, जसले केही न केही कुराको प्रतिनिधित्व गरोस् । महिलाको आवाज र अधिकार त्यसमा देखियोस् । धेरै सोचविचार गरेर मात्रै लगाउनुहुन्थ्यो । उहाँले मेरो डिजाइन मन पराउनु मेरा लागि ठूलो अवसर थियो,” प्रवल मिसेलसँगको भेट सम्झिन्छन्, “उहाँ धेरै सहयोगी स्वाभावको हुनुहुन्छ । ८५ औं बर्डडेमा उहाँले मलाई पनि बोलाउनु भयो । त्यो बर्थडेमा वियोन्से पनि हुनुहुन्थ्यो । मिसेलसँगको त्यो भेटबाट पनि नजिक भएको हुँ ।” 

     

    त्यसअघि कही वर्ष अगाडिको प्रसंग सुनाए प्रवलले । महिला सशक्तिकरणको कार्यक्रम ‘गर्ल् राइडिङ’ को कार्यक्रम थियो । त्यो बेला ह्वाइटहाउस गएका थिए । लाइन बसेर गएका प्रवलले आफ्नो आमाले आफूसँग भनेको कुरा मिसेललाई सुनाए । मिसेलले भनिन्, “सि इज भेरी ट्यालेन्टेड लेडी ।”

    त्यसअघि स्कुल पढ्दा साथीहरु ‘तँ फरक छस् छुट्टै बस भन्थे । सधै यही एउटै कुरा सुन्दासुन्दा प्रवललाई पनि अरुभन्दा केही फरक नै रहेछु जस्तो लाग्थ्यो । तर कस्तो फरक, के फरक न उनलाई थाहा थियो न भन्ने साथीहरुलाई । परिवारको गार्मेन्ट उद्योग थियो । आम नेपाली नागरिकले त्यो गार्मेन्टका कपडा लगाउँथे । निकै सस्तो दामका हुन्थे ती कपडा । 

    प्रवलले त्यही बेला दरो संकल्प गरे, म सस्तो होइन महँगो लुगा बनाएर बेच्छु । त्यही बाल संकल्पले प्रवललाई फेसन डिजाइनमा पुर्यायो । मिसेल ओबामादेखि वियोन्सेसम्मलाई भेटायो । फेसनको संसारमा टाकुरामा पुर्याएर उभ्याइदियो । 


    1505 0 10/27/2018 @ 12:35
  • ktm वरपरका खबरहरु

    Newsenepal द्वारा लिखित अन्य खबरहरु

तपाईका प्रतिक्रियाहरु

नेपाली टाईप गर्नको लागि (Press Ctrl+g to toggle between English and Nepali)

Advertisements
Top