• सुशिल गौतम

    आर्यलाई किन संरक्षण


    नेपालको संबिधान २०७२ को धारा ४ .१ ले नेपाल राज्यलाई स्वतन्त्र अविभाज्य, सार्वभौमतासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजबाद उन्मुख, लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर भनि परिभाषित गरेको छ । यसै धाराको स्पष्टिकरणको रुपमा धर्मनिरपेक्षको अर्थ सनातन देखि चलिआएको धर्म, संस्कृतिको संरक्षण लगायत धार्मिक सांस्कृतिक स्वतन्त्रता सम्झिनुपर्छ भनिएको छ । यस धाराको स्पष्टीकरणले के बुझाउँछ भने सबैलाई आ-आफ्नो धर्म संस्कृतिको पालन गर्न पाउने स्वतन्त्रता हुने छ र परापुर्वकाल देखि चलिआएको नेपाली माटोका धर्महरु ' हिन्दु, बौध, जैन, किरात' आदि धर्मको संरक्षण गर्नु यस संबिधानको कर्तब्य हुनेछ । जस मध्ये ठुलो संख्यामा धर्मावलम्बी बोकेको हिन्दुधर्म र मानवसभ्यता कै प्राचिन ग्रन्थ  'ऋग्वेद' संग सोझो सरोकार राख्ने नै भयो अर्थात 'ऋग्वेद' को मूल्य मान्यताको संरक्षण र सम्बर्धन गर्नु यस धाराको मर्म रहेको छ । 

    त्यस्तै यस संबिधानको धारा १८ को उपधारा ३ अन्तर्गत समानताको हकमा ”.... पिछडिएको क्षेत्र र आर्थिक रुपले बिपन्न खस आर्य लगायत नागरिकको संरक्षण , सशक्तिकरण वा बिकासको निम्ति कानुन बमोजिम बिशेष व्यवस्था गर्न रोक लगाएको मानिने छैन ” भनि उल्लेख गरिएको छ । स्पष्टिकरण सहित आएको धारा ४.१  आफैमा अस्पष्ट छ । ’खस’ भनेको कर्णाली भेगमा बोलिने 'नेपाली' जस्तै सुनिने तर नेपाली भाषीलाई नै बुझ्न गाह्रो पर्ने भाषीहरु भए तर 'आर्य' भनेको  के हो ? आर्यको परिभाषा के लाई मान्ने ? 

    परापुर्वकाल देखि चलिआएको पुर्बिय सभ्यता माथि आक्रमण गर्न नियोजित रुपमा विभाजन ल्याउन गलत परिभाषाको जामा लगाईदिने ' रोयल एसियाटिक सोसाइटि (१८६६)' को परिभाषा मान्ने कि  सनातन देखि चलिआएको ऋग्वेदको वास्तविक आशय मान्ने ? मिति ९।४।१८६६ म लण्डनमा भएको ' रोयल एसियाटिक सोसाईटी' ले 'आर्य शब्दको अर्थ 'नाक चुच्चो, गहुँ गोह्रो' भएकाहरुलाई जनाउनको निमित्त सर्वसम्मतिले पारित गरेको रहेछ । गोरो छालाले भनेपछि हामीले नमान्ने कुरै छैन ।  त्यहि भएर होला आज सम्म पनि हामी मध्ये धेरै आर्य भनेको नाक चुच्चो भएको ’क्षेत्री, बाहुन, इरानी, इराकी जस्ता देखिने’ भन्दै उफ्रिदै आएका छौं । हुँदा हुँदा हाम्रै देशका नेताहरुले समेत ' आर्य' शब्दको वास्तविक अर्थ नखोजी संबिधान मै ठोकिदिए त्यो पनि 'संरक्षण' गर्नुपर्ने आशय सहित ।     

    ’आर्य को अर्थ नाक चुच्चो, अनार्यको अर्थ नाक थेप्चो’ जस्तो षड्यन्त्रकारी परिभाषा आँखा चिम्लेर स्वीकार गरेपछि एउटै धर्मसंस्कृति अंगालेका बाहुन, क्षेत्री, थारु, मधेशी, राई, लिम्बु बीच कति ठुलो फुट आउनेछ; हामीले हेक्का राखेका रहेनछौं । एनजिओ आइएनजीओका भाडाका  'बुद्धिजिबी' हरु आर्य अर्थात बाहुन क्षेत्रीहरु भारतबाट घुसेर अनार्य ' राई, लिम्बु, मगर, शेर्पा' माथि राज गरे भनेर बिभाजनको ठुलो रेखा कोर्न त्यतिकै परिचालित भएका होइनन । 

    आर्यको खास अर्थ के त ? डा निर्मलमणि अधिकारी लेख्नुहुन्छ ' ईश्वरवाचक ‘अर्य शब्द (ऋग्वेद–१।८६।६) ‘ऋ गतौ’ धातुमा ‘अचोयत्’ गरेपछि ‘ऋहलोण्र्यत्’ सूत्रले (अष्टाध्यायी–३।१।१२४) ‘ण्यत्’ गर्नाले निष्पन्न भएको हो । यो ईश्वरवाचक ‘अर्य’ शब्दमा नै ‘तस्यापत्यम्’ (अष्टाध्यायी–४।१।९२) सूत्रले ‘अण्’ प्रत्यय लाग्नाले ‘आर्य’ पद निष्पन्न भयो । 

    ऋग्वेदमा आर्य शब्द धातु देखि  वाक्य प्रयोगसम्म बिबेचना गरिहेर्दा कहीं पनि ' जातिवाचक' शब्दको रुपमा प्रयोग भएको छैन । आर्यको अर्थ केवल ईश्वरपुत्र, श्रेष्ठ, उत्तम गुणयुक्त, सद्गुण परिपूर्ण जस्ता विशेषण जनाउने शब्द हो न कि लामो नाक भएको जात जनाउने शब्द ।

    ”अम्बेडकरले ऋग्वेदका पाना–पाना पढेर गणना गर्दा ‘अर्य’ शब्द ८८ (अठासी) स्थानमा र ‘आर्य शब्द ३१ (एकतीस) स्थानमा भेटे; र कतैपनि यी जातिवाचक भएको पाएनन् । यी तमाम सत्य तथ्य विपरित आर्य शब्दलाई कुनै एउटा जात वा प्रजाति भनिइनु पटमुख्र्याइँ हो ।” (डा अधिकारी) 

    ऋग्वेदमा भनिएको छ “कृण्वन्तो विश्वमार्यम्” अर्थात विश्वलाई आर्य बनाउ । अर्थात विश्वका सबै मानिसलाई "श्रेष्ठ, उत्तम गुणयुक्त, सद्गुण परिपूर्ण" बनाउ ।  यदि आर्य शब्दको अर्थ नाकको निश्चित उचाई र निश्चित शारीरिक बनोट भएको मानिसलाई बुझाउने भए बाँकी रहेका मानिसहरुलाई के गरेर आर्य बनाउने होला ? अफ्रिकनहरुलाई फेयर एण्ड लभ्ली घंस्ने हो कि प्लास्टिक सर्जरी गर्ने हो ? जापानी र चिनियाँको आँखा शल्यक्रिया गरेर मिलाउने हो कि जेनेटिकल मोडिफ़िकेसन गरेर अब उप्रान्त जन्मिने बच्चाको नाकको साइज मिलाउने हो ?  अथवा निश्चित उचाईका नाक भएकोलाई छोडेर बाँकी रहेकाहरुलाई हिटलरले झैँ ग्याँस च्याम्बरमा हालिदिने हो ?

     हिँसा निषेध गरेको बेदले यस्तो कल्पना गर्ने त कुरै आउँदैन । बेद अपौरुषीय ग्रन्थ हो अर्थात यसका बाणीहरु कुनै निश्चित जात, सम्प्रदाय, भूगोल र समयको लागि नभई समग्र प्राणी जगतको लागि हो ।  ”वसुधैव कुटुम्बकम” को मान्यता राख्ने बेदलाई नाकको उचाईको आधारमा किन संकुचित गराउँथे होला र बेदब्यासले ?

    यसैबाट स्पष्ट हुन्छ कि आर्य शब्द जातिवाचक शब्द होइन । यस शब्दको प्रयोग कुनै जात जनाउन रोकौ ! नाक थेप्चो भए पनि महाबिर पुन: आर्य हुन, काले राई (स्वामी प्रपन्नाचार्य) आर्य हुन तर नाक लामै भए पनि युवतीलाई मारेर टुक्रा टुक्रा पारेर फाल्ने बिरेन प्रधान आर्य होइनन । 

    तर ऋग्वेदको आशय स्वीकार्न धेरै गाह्रो छ, धेरै लगानी भईसकेको बिखण्डन ल्याउन ।  आङ्गकाजी शेर्पाहरु रामानन्द सागरको रामायण हेर्छन, त्यसको मुख्य कलाकार अरुण गोभिलको नाक पनि लामो देख्छन ।  रामायणमा  रामलाई ’आर्यपुत्र’ भनेर सम्बोधन गरेको सम्झिन्छन अनि सोच्छन वास्तविक रामको पनि नाक लामै थियो अनि भाषण ठोक्छन 'हिन्दु आर्य बाहुनले शंख फुके समाचार बनाउने, हाम्रो नबनाउने भनेर ' बिचारहरु बेदको अस्तित्व स्वीकार्दैनन् तर बेद मै उल्लेखित 'आर्य' शब्दको गलत परिभाषा भने हृदय देखि नै स्वीकार गर्छन । 

    सबिधानले आर्थिक रुपले बिपन्न ...आर्यलाई संरक्षण दिने भनेको छ । आर्यको अर्थ यदि  बिखण्डनकारी ’रोयल एशियाटिक सोसाईटी' ले लादेको जातिवाचक  परिभाषा मान्ने हो भने यसै संबिधानको धारा ४.१ को उल्लङ्घन हुन जान्छ ।  यदि ऋग्वेदको वास्तविक आशय स्वीकार गर्ने हो भने ' असल, श्रेष्ठ र उत्तम ' प्रकृतिका मानिसलाई किन संरक्षण दिनुपर्यो , दिएपनि के को आधारमा मापन गर्ने हो ?


    1496 0 4/8/2016 @ 22:27
  • फिनल्याण्ड वरपरका खबरहरु

    Newsenepal द्वारा लिखित अन्य खबरहरु

तपाईका प्रतिक्रियाहरु

नेपाली टाईप गर्नको लागि (Press Ctrl+g to toggle between English and Nepali)

Advertisements
Top