• जरो र किलोको आधारमा नेपालको रिब्राण्डिङ्ग


    सुशिल गौतम, फिनल्याण्ड

    समयसंगै खोज-अनुसन्धान हुँदै जाँदा ब्राण्डको परिभाषाले बस्तु र सेवाजन्य उत्पादनलाई मात्र होइन राष्ट्रलाई समेत आफ्नो दायरामा ल्याएको छ । बजारशास्त्रीहरु ओलिन्स, पपडोउलुपस र हेस्लोप त झन् राष्ट्रलाई औधोगिक ब्राण्डको रुपमा हेर्न सक्ने धारणा राख्छन ।  भर्खरै मात्र भारतीय राज्य सिक्किमलाई 'जैविक राज्य' को रुपमा विकास गर्न खोजिएको छ । यो ’स्थान’ लाई ब्राण्डिङ्ग गर्न खोजिएको पछिल्लो कदम हो ।
    बैदिक दर्शनमा आधारित हाम्रो समाजमा प्राचिनकाल देखि चलिआएका कतिपय चलनचल्तीहरु दिगो विकासमुखी छन् तर यसको बर्तमान पुस्ताले बुझ्न सक्ने भाषामा बैज्ञानिक व्याख्या हुन सकेको छैन ।
    परम्परादेखि चलिआएको संस्कारलाई लिएर दुई अतिवादी हाम्रो समाजमा देखिन्छन । एक छाउपडीप्रथा, छुवाछुत जस्तो कुसंस्कारलाई समेत शिरोधार्य गर्नेपर्छ भन्नेहरु, अर्को परम्परा भन्ने बितिक्कै रुढिबाद र अन्धविश्वास मात्र देखेर फ़ालिहाल्न खोज्नेहरु । परम्परागत संस्कार र पद्धतिको बैज्ञानिक पक्षलाई प्रबिधिसंग जोडेर सामाजिक, आर्थिक एवं आध्यात्मिक बिकास गर्नु युग सुहाउँदो माग हो । डा. निर्मलमणि अधिकारीद्वारा सुरु गरिएको जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिको मूल उद्देश्य यहि हो ।
    फिनल्याण्ड कै महँगो मानिने स्ट्कम्यान डिपार्ट्मेण्टल स्टोरको खाद्यान्न बेचिने शाखामा उभिएको छु । रासायनिक किटनाशक औषधि नराखी जैविक तवरले उत्पादित खाद्यान्नको मूल्य चर्को छ ।  अन्य भन्दा झन्डै तेब्बर महँगो ।  मध्यम बर्गका फिन्निश नागरिकहरुलाई ज्ञान छ, रसायनिक मल र किटनाशक औषधिको प्रयोग गरि उत्पादन गरिएको खानाको स्वादमा कमि हुन्छ । पौष्टिक तत्वको कमि हुन्छ ।  माटोलाई अति आवश्यक पर्ने गड्यौलाको संख्या घटाईदिन्छ भने ढिलो चांडो रोग निम्त्याउने सम्भावना हुन्छ  तर पनि प्रयोग गर्न बाध्य छन् कारण विकल्पमा पाइने खाध्य उत्पादन अत्यन्त महँगो छ ।
    युरोपेली औधोगिक क्रान्तिले कृषिमा समेत क्रान्ति ल्यायो । यान्त्रिक शैलीमा रसायनिक मल र किटनाशक औषधिको निर्माण भयो, जैविक इञ्जिनियरिङ्ग गरेर अत्याधिक कृषि उत्पादन  पनि बढ्यो ।  फलस्वरूप यहि उत्पादनले मानिसलाई सम्पन्न पनि बनायो तर त्यहि उत्पादन खानु भन्दा जैविक कृषि उत्पादन खान पाए हुन्थ्यो भन्नेमा पुगे त्यहि सम्पन्न युरोपेलीहरु ।  
    सम्झिन्छु, भारतीय कृषि इन्जिनियर तथा लेखक बिजय दीक्षितका कृषिप्रणाली सुधार गर्न दिएका प्रवचनहरु ।  उनकै कुरा सुन्दा लाग्छ नेपालको गाउँ घरमा टण्टलापुर् घाममा जुन किसिमले गाईको गोबर हुत्याएर खेति गरिन्छ ।  त्यो पुरै अबैज्ञानिक छ । एक एकड खेतमा दश किलो गाईको गोबर, दश लिटर गाईको पिसाब, १ किलो बिग्रिएको सख्खर (जसबाट रक्सि पारिन्छ), एक किलो दालको पिठो, अक्सिजन अत्याधिक दिने रुखहरु (बर अथवा पिपल) नजिकको आधा किलो माटो सबै घोलेर पन्ध्र दिन राखेपछि बैज्ञानिक प्रांगरीक मल तयार हुन्छ । जसमा सय लिटर पानीमा घोलेर  खेतमा प्रयोग गर्दा खेतमा आवश्यक पर्ने जिवाणुको संख्या बढाईदिन्छ । फलस्वरूप यिनै जीवाणुले क्याल्सियम, फस्फोरस, नाइट्रोजनको निर्माण गर्छन ।  जसको कारण माटोको स्वास्थ्यमा सुधार ल्याउँछ, उत्पादकत्व बढाउँछ, अन्तत: स्वास्थ्यकर खाद्यान्नको उत्पादन हुन्छ, सस्तो र सुलभ रुपमा ।  यो आजदेखि होइन, परापुर्वकाल देखि चलिआएको पद्धति हो ।   रसायिक मलले गर्ने पनि यिनै क्याल्सियम, फस्फोरस, नाइट्रोजनको वृद्धि हो तर साइड इफेक्टको साथमा ।      
    सोच्नुपर्ने बेला यहि हो ।  स्थानिय रुपमै उत्पादन हुन सक्ने यस किसिमको मल प्रयोग गरेर दिगो कृषि बिकासमा लाग्ने कि महँगोमा आयातित रसायनिक मल र  किटनाशक औषधिमा भर परिरहने ?
    हजारौं बर्षको इतिहास बोकेको हाम्रो सभ्यतामा कैयौं आर्थिक, सामाजिक र राजनीतिक समस्या आए होलान के ति सबैको समाधान उपलब्ध स्रोत, साधन र सिद्दान्तबाट भएका थिए अथवा आजको जस्तो लम्पसार परेर बिदेशीले आएर गरिदिन्थे ?
    केहि दिन अगाडी संचार नवोन्मेष (Media innovation) को कक्षामा शिर्जनाशिलता र बिकास सम्बन्धि बेलायती अध्यापक एवम लेखक डा केली ओवेन यसै बिषयमा जोड दिदै थिए ।  उनी भन्थे ' दिब्य शक्ति भए छुट्टै कुरा, नत्र एक व्यक्तिले समस्याको समाधान गर्न एउटा शिर्जना गर्छ, त्यसलाई अर्को व्यक्तिले समय र परिस्थिति अनुकुल परिमार्जन गर्छ यो नै बिकास हो '। प्राचिनकाल देखि चलिआएको तौरतरिकालाई चटक्क बिर्सेर पश्चिमीको अन्ध अनुसरण गर्नु नै बिकास हो भन्ने मान्यता हाम्रोमा स्थापित भएको देख्न सकिन्छ ।  भुटेको मकै भटमासको सट्टा बर्गर पिज्जा खानु बिकास र आधुनिकीकरण मान्छ हाम्रो पुस्ता । वास्तवमा हुनुपर्ने त कम इन्धन खपतमा भुटेको मकै भटमास कै विभिन्न परिकार निर्माण गरिनु पो बिकासको सहि अर्थ थियो ।   
    IDEO.org का प्रमुख कार्यकारी तथा अभिकल्प बिचार प्रक्रिया तथा बिकास नवोन्मेषका चल्तीका व्यक्ति टिम ब्राउनको भनाईमा नेपाल त झनै बिकास र नवोन्मेषको निम्ति उर्वर भुमि हुनुपर्ने हो ।  यति सानो क्षेत्रफलमा फरक फरक संस्कार, इतिहास, हावापानी, भाषाभाषी, भूगोल र जीबनपद्दति बोकेका मानिसहरुको समष्टि नै वास्तविक नेपाल हो ।  यस किसिमको बिभिन्नता विश्वको अन्य देशहरुमा बिरलै पाइन्छ ।  टिम ब्राउन भन्छन ' बिभिन्नतायुक्त मानिसहरुको समष्टिले नवोन्मेष र दिगो बिकासको निम्ति आधार दिन्छ । ’
    परम्परागत संस्कारलाई आधुनिक प्रबिधिसंग संयोजन गर्दाको ज्योलन्त उदाहरण हो ' एयरबिएनबि । एक सय ९० देशका ३४,००० शहरमा यसको व्यवसाय संचालनमा छ । आफ्नो गन्तब्यमा अवस्थित अपरिचितको घरमा बास बस्न निर्मित यस संजालमा पन्ध्र लाख बासस्थानहरु उपलब्ध छन् । फर्केर हेरौं त हाम्रै समाजमा । यात्राको क्रममा साँझ परेको खण्डमा कसैको घरमा बास माग्नु प्राचिनकाल देखि चलिआएको चलन हो । यस किसिमको परोपकारी चलनको जगेर्ना गर्नुपर्छ भनेर अझ ' साँझको पाहुनामा ईश्वरको रुप हुन्छ' समेत भनिएको छ । ठिक यहि चलनलाई आधुनिक प्रबिधिसंग जोडेर 'एयरबिएनबि' बनेको छ । हाम्रोमा नितान्त परोपकारी भावनाबाट यस्ता संस्कार चलेका थिए भने अमेरिकी एयरबिएनबि आर्थिक कारोबार गर्न खोलिएको छ । जसले जे का निम्ति गरेपनि एउटा अन्वेषणको निम्ति पर्याप्त आधार भने हाम्रै मौलिक संस्कारले दिएको छ । समय मै राम्रो नेपाली कम्प्युटर प्रोग्रामरले यहि संस्कारलाई बुझेर प्रबिधिसंग जोडेको भए एयरबिएनबिको मुख्य कार्यालय क्यालिफोर्नियामा नभई काठमाडौँमा हुन सक्दैनथ्यो र ?

    नेपालमा पहिले देखि बनाईने चर्पीहरु दुई खुट्टा टेकेर टुक्रुक्क बस्नुपर्ने किसिमका हुन्थे, र  दिसा गरिसकेपछि पानीले पखाल्ने गर्थ्यौ । अचेल ढलान गरेको घर बनाएपछि पश्चिमी देशका चर्पी झैँ थचक्क बस्न मिल्ने र कागजले पुछ्नै पर्छ भन्ने मान्यता बस्न थालेको छ । मलद्वार सफा गर्न कागजको पहिलो प्रयोग चीनमा छैठौ शताब्दीतिर भएपनि युरोपेली र अमेरिकीहरुले प्रयोग गर्न थालेपछि हामी पनि उनीहरु कै सिको गर्दै प्रयोगमा ल्याएका हौँ । पानीको सुबिधा नभएको ठाउँमा सुरुवाती समयमा कागजले पुछ्दा छिटो, छरितो र हातमा किटाणु नटाँसिने, यावत मान्यताको कारण लोकप्रियता पाएको थियो ।  तर पछिल्लो समयमा गरिएको अनुसन्धानले बाक्लो तहको कागजले दिसा पुछ्दा पनि किटाणुहरुको संक्रमण यथावत रहने देखाएको छ । कागजको प्रयोगले एकातिर मलद्वार जस्तो संवेदनशिल अंग राम्रोसंग सफा हुदैन भने अर्को तर्फ साबुन पानीले हात धुनैपर्ने बाध्यता रहन्छ । त्यसमाथि आन्द्रा र पेट सम्बन्धि चिकित्सक सदस्य रहेको  संगठन बिएनबिएफले सजिलै दिसा गर्न दिएको सुझावको मुद्रा हेर्दा दुई खुट्टा टेकेर गरिने नेपाली चर्पी उपयोगी देखिन्छ, जुन कब्जियतका बिरामीलाई लाभदायक छ  । अझ वर्ड वाच इन्स्टिच्युटको रिपोर्ट अनुसार दैनिक २७ ००० वटा रुख चर्पीमा प्रयोग गर्नको निमित्त काटिने गरेका छन् ।
    स्मरण रहोस, संसारको धेरै भागमा चर्पीमा कागजको प्रयोग हुदैन तर यो दिनानुदिन बढ्दो छ । बिश्वब्यापी रुपमा कागजको प्रयोग हुने हो भने दिनमा कतिवटा रुख फ्लस गरेर सकिने हुन, अनुमान लगाउन गाह्रो छ । एकातिर ब्यापक बन फडानी हुने, अर्को तर्फ मलद्वार सफा नहुने र अर्को तर्फ हातमा किटाणुको संक्रमण यथावत रहने भएको चर्पीमा कागजको प्रयोग दिगो बिकासमुखी होइन । नेपालमा झैँ मलद्वार पानीले पखालेर साबुन पानीले हात धुनु उत्तम बिधि हो तर धेरैलाई आफ्नै दिसा पखाल्दा घिन लाग्न सक्छ । तर उपाय छन् । ट्वाकमा पानी हालेरै रगड्नुपर्छ भन्ने छैन । चर्पी माथि पानी ट्यांकीबाट पाईप मार्फत ल्याएर हातले नछोई पनि पखाल्न सकिन्छ । चुरो कुरो यथावत राखेर सुबिधाको निम्ति परिमार्जन गर्नु, आखिर यहि त बिकास हो ।
    अनि कसरी सुख्खा बनाउने ? बस, उदारहणको निम्ति प्रस्तुत यस हरफको उद्देश्य नै यहि हो । पाइपबाट आएको पानीले स्प्रे गरेर पखालिसके पनि लिन्डस्ट्रोमको ह्याण्ड टावेल जस्तै मलद्वार पुछ्ने कपडाको रोल चर्पी पछाडिको भित्तामा  जोड्न सकिन्छ । जसलाई पटक पटक धोएर प्रयोग गर्न सकियो ।  न बन फडानी, न दुषित मलद्वार  ।  
    यो रोल जोडिएको चर्पीको कुरा सुन्दा हाँस्यास्पद सुनिन्छ, केहि समयपछि पश्चिमीले निर्माण गरे भने स्वत: खपत गर्नेछौ ।  
    भन्नुको आशय, पश्चिमीको अन्ध अनुसरण गरेर आफ्नो सामाजिक चालचलन मिल्काईहाल्नु पर्छ भन्ने होईन ।  त्यसपछाडि लुकेको वैज्ञानिकताको खोज गरि उपलब्ध प्रबिधिसंग संयोजन गरी आफै निर्माण गर्दा आर्थिक, सामाजिक र भौतिक बिकास हुन्थ्यो । गोरो छालाले गरेको हरेक चिज पछ्याउंदै अन्तमा आफ्नै पहिचान बिर्सेको पत्तो नहुने दिन नआउला भन्न सकिन्न ।   
    बेदबचन छ, धर्मार्थ यशसेऽर्थाय कामाय स्वजनाय च । पंचधा विभाजन् वित्तं इहामुभ च मोदते ॥ यसलाई खुलस्त गर्दै डा.निर्मलमणि अधिकारी लेख्नुहुन्छ, आम्दानिलाई पांच भागमा विभाजन गरेर एक भाग धार्मिक कार्यमा, दोस्रो भाग यश किर्तिको लागि, तेस्रो भाग फेरी धन कमाउन लगानीको लागि, चौथो भाग घर गृहस्थी सुखको निम्ति र पाचौ भाग बन्धु - बान्धव लगायतका आशामुखीहरुको निम्ति छुट्याउनुपर्छ । यी सुझावहरु कुनै वारेन बफेटले अर्थ व्यवस्थापनको निम्ति दिएको सुझाव भन्दा उच्च स्तरका छन् । बेद बचन मात्र अनुसरण गरिदिएको भए हाम्रो समाजमा 'कोहि हुने खाने त कोहि हुँदा खाने' को अवस्था आउँदैनाथियो । जब उपरोक्त सुझाव कार्यान्वयन हुन्थ्यो, प्राचिनकालमा मठ मन्दिर पाटि पौवाले धार्मिक कार्यको निम्ति दिईएको सम्पति संकलन गरेर राख्थे र प्राकृतिक प्रकोप पर्दा त्यसैको परिचालन गर्थे । अचेल हामीले यी कुरा बिर्सिसकेका छौँ । च्याउ सरी एनजीओ आइएनजीओको चलन आएको छ ।  लाखौको तलब खाएर हजार रुपैयाँको जस्तापाता वितरण गरेर आफुलाई 'समाजसेवी'को उपमा दिने पाखण्डी प्रवृति बढेको प्रष्ट देखिएको छ । अझ ति एनजीओ आइएनजीओको देखावटी काम एउटा तर भित्री योजना धर्म संस्कृतिमाथि प्रहार गर्नु हो भन्ने त बुझिएकै छैन । बन्धु बान्धवको निम्ति आशामुखिहरुको निम्ति रकम खर्च गर्नु त कता हो कता त्यहि बन्धु बान्धवको सेखी झार्न ऋण गरेरै भए पनि शान शौकत देखाउनु सामान्य बनेको छ । यस किसिमको प्रवृतिले सामाजिक स्थायित्व ल्याउँछ त ? मनन गरौ त नेपालमा खानै नपुगेको कारण अत्याधिक भ्रष्टाचार भएको होला कि आफन्तलाई शान देखाउनको कारण ? पेट पाल्नैको निम्ति लाखौ करोडौको भ्रष्टाचार त नहुनु पर्ने हो । यदि बेदब्यासले भने झैँ, सबै नेपालीले आम्दानीको सदुपयोग गर्न सकेको भए न भ्रष्टाचार हुने थियो न बिदेशी दाताको ऋण अनि मनोमानी सर्त न एनजीओ आइएनजीओको नाङ्गो हस्तक्षेप !
    योग साधनाको शारीरिक, मानसिक र आध्यात्मिक महत्व नेपाल भारतमा मात्र नभई क्रमश: युरोपेली देशहरुमा समेत बुझ्ने क्रम जारी छ । फिनल्याण्ड मै पनि योग साधना सिकाउने निजी संस्थाहरु प्रशस्त खुलेका छन् ।  योग साधनाको बिकासको केन्द्र नेपाल भए पनि यसको प्रचार हुन सकेको छैन ।  विश्वलाई स्वस्थ, सुखी र शान्त बनाउने यो कलाको राम्रो प्रचार प्रसार गर्न सके नेपालको पर्यटकीय बिकासमा सुनमा सुगन्ध हुन्थ्यो ।
    अतः नेपाली माटोमा बिकास भएर प्राचिनकाल देखि चलिआएको कतिपय संस्कार र परम्परा दिगो बिकासमुखीका छन् ।  तिनले नेपाली समाजकै अनगिन्ति समस्या समाधान गर्ने हैसियत राख्छन । त्यस्ता प्राचिनकालीन सिद्दान्त र व्यवहारलाई आधुनिक प्रबिधिसंग जोडेर समग्र नेपालकै रिब्राण्डिङ्ग गर्न सकिन्छ ।  नेपाल' भन्ने बितिक्कै बिदेशीको दिमागमा आइहालोस न "हजारौ बर्षदेखि अविच्छिन्न स्वतन्त्र देश जहाँ बिशुद्ध सनातनदेखि चलिआएको दर्शन र संस्कार देख्न पाइन्छ, जैविक उत्पादनको प्रयोग र योग साधनाको उद्गम थलो"  ।  
    त्यसको निम्ति प्रत्येक नेपालीले 'बुद्ध वाज बर्न इन नेपाल' भनेर मात्र छाती पिट्नु भन्दा योग-साधनालाई व्यवहारमै लागु गर्नुपर्छ किन भने यसका फाईदाहरु त आफ्नै ठाउँमा छन् साथ साथै ' नेसन ब्राण्डिङ्ग' मा त्यस सम्बन्धित देशका नागरिक 'ब्राण्ड एम्बास्डर' बन्नुपर्ने हुन्छ । ब्राण्डको आधारभुत मूल्य मान्यता नागरिकको व्यवहारले परावर्तन गर्नुपर्ने हुन्छ ।
    सिक्किमको ब्राण्डिङ्ग जैविक राज्यको रुपमा बन्दै छ । भुटानले ' ह्याप्पिनेस इन्डेक्स' को आधार बनाएको छ भने नेपालमा प्राकृतिक मनोरम दृश्य, जैविक बिबिधता, सनातनदेखि चलिआएको सिद्दान्त र व्यवहार छन् । जरो र किलो नेपालमै भएको आफ्नै मौलिकताको आधारमा नेपालको ब्राण्डिङ्ग किन नगर्ने ?

    email: gsushil555@gmail.com


    1423 0 3/18/2016 @ 18:40

तपाईका प्रतिक्रियाहरु

नेपाली टाईप गर्नको लागि (Press Ctrl+g to toggle between English and Nepali)

Advertisements
Top