• Newsenepal

    कस्तो अवस्थामा दशैंको टीका लगाउनहुँदैन


    विजयादशमी (टीका) आउन अब केही दिन मात्र बाँकी छ । हिन्दु धर्मावलम्बीले मनाउने यो महान चाडमा कतिपय परिवारजनले जुठो वा सूतकका कारण टीका लगाउन पाउँदैनन् । कतिपय परिवारजनचाहिँ टीका लगाउने कि नलगाउने भन्ने दोधारमा छन् ।

    आखिर कस्तो अवस्थामा दशैंको टीका लगाउनहुँदैन ? र, कस्तो अवस्थामा टीका लगाउँदा हुन्छ ? आफू नजिकको कुन नातेदारको मृत्युमा कहिलेसम्म जूठो बार्नुपर्छ ? हामीले यसबारे हिन्दू संस्कृति एवं धर्मशास्त्रका ज्ञाताबाट जानकारी लिने प्रयास गरेका छौं ।

    नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा माधवप्रसाद भट्टराईका अनुसार सबैभन्दा धेरै जुठो बार्नुपर्ने आमा–बुबा र पतिको मृत्युमा एक वर्ष हो ।

    त्यसपछि पत्नीको तीन महिनासम्म, भाइ र छोराको ४५ दिनसम्म र सपिण्डीको एक महिनासम्म विशेष आशौच (जुठो) लाग्ने गर्छ । यो समयभित्र छोराछोरीको बृद्धिकर्म (चूडाकर्म, उपनयन र विवाह) गर्नुहुँदैन । त्यसपछि आशौच अनुसार विनायक एवं श्री शान्ति गरेर मात्रै मांगलिक कृत्य गर्नुपर्छ ।

    हिन्दू संस्कार अनुसार मानिसको जन्मभन्दा अघि नै सुरु हुने १६ वटा संस्कार मानिसको मृत्युपछि मात्रै पूरा हुन्छ । यी १६ संस्कार मध्ये जन्म र मृत्यु संस्कारको समयमा परिवार र कूलका मानिसहरु अपवित्र हुने मान्यता छ । जन्म र मृत्युको केही समयसम्म देवकार्य र पितृकार्य जस्ता मांगलिक कामहरुमा प्रतिबन्ध लगाईएको हुन्छ । जसमध्ये कुनैपनि परिवारमा नयाँ व्यक्तिको जन्म भएको बेलामा १० दिनसम्म सूतक मान्ने गरिएको छ । मृत्युको समयमा सम्बन्ध अनुसार जुठो बार्ने गरिएको छ । यही कारणले नै हिन्दू संस्कार व्यवस्थामा पुस्तौपुस्तासम्मका मानिसहरुबीच समेत भातृत्वको भावना पाईन्छ ।

    नेपालीहरुको महान पर्व दशैं सुरु भइसकेको छ । दशैंको मुख्य दिनहरु फूलपातीदेखि सुरु हुँदैछ । तर, दशैंको यो मुख्य पर्वमा जुठो र सूतकका कारण धेरैलाई समस्या हुने गरेको पाइन्छ । अर्काेतर्फ कुन् सम्बन्धको कतिदिनसम्म जुठो वा सूतक बार्ने भन्ने विषयमा अन्यौल हुँदा पनि धेरैलाई समस्या हुने गरेको पाइन्छ । सगोत्री, सपिण्डी र सोदकी जस्ता सम्बन्धहरुबारे जानकारी नहुँदा धेरैमा यस्तो समस्या देखिने गरेको छ ।

    सपिण्डी, सगोत्री र सोदकीहरु भिन्न–भिन्न सम्बन्धहरु हुन् । मूल पुरुषहरुदेखि ७ पुस्तासम्मका भाइबन्धुहरु सपिण्डी हुन् । सामान्यतया सपिण्डीहरुको आशौच (जुठो) १० दिन लाग्ने गर्दछ । त्यस्तै, ८ देखि १४ पुस्तासम्मको भाइबन्धुहरुको सम्बन्ध सोदक हो । जसभित्रका मानिसहरुले जुठो ३ दिन बार्नुपर्दछ । १५ देखि २१ पुस्तासम्मका भाइबन्धुहरुलाई सगोत्री भन्ने गरिन्छ । सामान्यतया सगोत्रीहरुको मृत्युमा अहोरात्र (दिन र रात) मात्रै जुठोबारे पुग्छ ।

    शास्त्रका अनुसार बालक जन्मेको सन्दर्भमा नालच्छेदन पछि सूतक शुरु हुन्छ । जन्मदिने आमालाई ३० दिनसम्म सूतक लाग्छ । ३० दिनअघि आमाले पितृकार्य वा देवकार्य एवं भान्साको काम गर्नुहुँदैन । नाल काटेपछि वा मृत बच्चा जन्मिएमा सपिण्डीहरुले १० दिन सूतक बार्नुपर्छ तर जुठो लाग्दैन । अरु सामान्य अवस्थामा पनि सपिण्डीहरुलाई १० दिन सूतक लाग्छ ।

    डा. भट्टराईका अनुसार हिन्दु संस्कारमा विभिन्न उमेरका मानिसको मृत्युमा जुठोसम्बन्धी निर्णय यस्तो छ :

    बच्चाको मृत्युभएमा कति दिन बार्ने ?

    – बच्चा गर्भमै मरेमा पनि सूतक वा जुठो लाग्दैन ।

    – बच्चा जन्मिएपछि न्वारनअघि नै बच्चाको मृत्यु भएमा स्नान मात्र गरेपछि सबै चोखा हुन्छन् ।

    – नामाकरणपछि दाँत नउम्रिँदै बच्चाको मृत्यु भएर जलाएमा उसको एकदिन जुठो बार्नुपर्छ ।

    – दाँत उम्रिएपछि चूडाकर्म नगरुञ्जेल बच्चाको मृत्यु भएमा बाबुआमाले एकदिन जुठो बारे हुन्छ ।

    – चूडाकर्म भइसकेपछि व्रतबन्ध अगाडि नै मृत्यु भएमा ३ दिन जुठो बार्नुपर्ने हुन्छ ।

    –व्रतबन्धअघि नै छोराको मृत्यु भएमा आमाबाबु र सौतेनी आमालाई तीनरात जुठो लाग्छ ।

    – ६ महिनासम्मका छोराहरु मरेमा सपिण्डीहरुले नुहाएमात्रै पुग्छ । ६ महिनादेखि ३ वर्षसम्मको बच्चाको निधनमा सपिण्डीले एकदिन जुठो बार्नुपर्छ । छोरी मरेमा सपिण्डीले एकदिन र बाबुआमाले ३ दिन जुठो बार्नुपर्छ ।

    – व्रतबन्धपछि छोराछोरीको मृत्यु भएमा अन्य मानिसको सरह नै नाता अनुसारका मानिसहरुले जुठो बार्नुपर्छ ।

    सामान्यतया कसको मृत्युमा कति दिन लाग्छ जुठो ?

    – कुनै पनि कन्याको जन्मपछि चूडाकर्म गर्नुपूर्व मृत्युभएमा सपिण्डीहरुले स्नान मात्र गरे पुग्छ ।

    – चूडाकर्मपछि वाग्दानपूर्व (बिहे छिन्ने काम) मृत्यु भएमा एक दिन तथा वाग्दानपछि विवाह अगाडि मृत्यु भएमा पति तथा पिताका दुबै कुलमा ७ पुस्तासम्मका दाजुभाइहरुले तीन दिनसम्म जुठो बार्नुपर्छ ।

    – विवाह गरेकी विवाहिताको जुठो उनका पिताको कुलमा ७ पुस्तासम्मका लागि तीन दिन लाग्छ ।

    – विवाह गरेर गइसकेकी छोरीले आफ्ना आमाबुबाको जुठो ३ दिन बार्दा हुन्छ भने विवाह नभएकी छोरीले १० दिन जुठो बार्नुपर्छ ।

    – विवाहिता दिदी–बहिनी र दाजुभाइहरुले एक आपसमा मृत्यु भएको खण्डमा समान तीन दिन जुठो बार्नुपर्छ ।

    – भाउजू–बुहारी, नन्द–आमाजूको परस्परमा जुठो एक दिन लाग्छ ।

    – विवाह गरेकी छोरी माईतमा मरेमा दाजुभाइलाई ३ दिन जुठो लाग्छ । पतिको घरमा नै मरेमा काकाले एक दिन, दिदीबहिनीले दाजुभाइसरह जुठो बार्नुपर्दछ ।

    – विवाह गरेकी छोरीको १० दिनभित्र मृत्युको खबर सुनेमा ३ दिन र १० दिनपछि सुनेमा एक दिन जुठो बार्नुपर्दछ ।

    – गायत्री सुनाएका वा वेद पढाएका गुरु, कर्म चलेका भाञ्जाभाञ्जी, छोरीका छोराछोरी, आमाका आमाबुबा, पत्नीका आमाबुबा, आफ्नो वा पतिपत्नीका मामा–माइज्यू र छोरीज्वाइँको जुठो ३ दिन लाग्छ ।

    –मितको मृत्युमा ३६ घण्टा जुठो बार्नुपर्छ ।

    – एउटै आमाका तर, फरक पिताबाट जन्मिएका दिदी–बहिनी एवं दाजुुभाइको जुठो तीन दिन लाग्ने गर्छ ।

    – गुरुकी पत्नी वा गुरुका छोराछोरीको मृत्युमा एक दिन जुठो बार्नुपर्छ ।

    – वानप्रस्थी, सन्यासी, र व्रम्हचारीले अरुको जुठो बार्नुपर्दैन । उनीहरुका भाइबन्धुले बारे पनि, नबारे पनि हुन्छ । तर, उनीहरुका छोराछोरीले भने सबै कृत्य गर्नुपर्छ ।

    धर्मपुत्रले धर्म बाबुआमा मरेमा ३ दिन र क्रिया नै गर्नुपरेमा १० दिन बार्नुपर्छ ।

    –सात पुस्ता (सपिण्डी) भित्र व्रतबन्ध भएका मानिस मरेमा १० दिन जुठो बार्नुपर्दछ ।

    – आमा, बुबा र पतिको मृत्यु भएमा एक वर्षसम्म जुठो बार्नुपर्छ ।

    – सौतेनी आमाको मृत्यु भएमा ६ महिनासम्म जुठो लाग्ने गर्छ । सौतेनी आमाको १० दिन नै क्रिया बार्नुपर्छ । एक वर्षपछि मरेको घटना सुने पनि ३ दिन क्रिया बार्नुपर्छ ।

    – पत्नीको मृत्यु भएमा पतिलाई तीन महिनासम्म जुठो लाग्छ ।

    – भाइ र छोराको ४५ दिनसम्म जुठो लाग्ने गर्छ ।

    – बाँकी रहेका सबै सपिण्डीहरुको मृत्युमा एक महिनासम्म विशेष आशौच (जुठो) लाग्ने गरेको छ । यो समयमा छोरा–छोरीको बृद्धिकर्म (चूडाकर्म, उपनयन र विवाह) गर्नुहुँदैन भन्ने मान्यता छ । त्यसपछि आशौच अनुसार विनायक एवं श्री शान्ति गरेर मात्रै मांगलिक कृत्य गर्नुपर्छ ।

    – विशेष आशौच बाहेक सपिण्डीहरुको मृत्युमा १० दिन जुठो बार्नुपर्दछ ।

    – सोदक (८ देखि १४ पुस्तासम्मका भाइबन्धुहरु) को मृत्युमा ३ दिन जुठो बार्ने गरिन्छ ।

    – सगोत्री (१५ देखि २१ पुस्तासम्मको भाइबन्धुहरु) को मृत्युमा अहोरात्र (दिन र रात) मात्रै जुठो बार्ने गरिन्छ ।

    कस्तो अवस्थामा कति दिन जुठो बार्ने ?

    – एउटा जुठो नसकिँदै अर्काे जुठो थपिएमा नजिकको पुस्ताका आधारमा जुठो बार्नेसम्बन्धी निर्णय गर्नुपर्दछ । जारी जुठो भन्दा नजिकको नाताका मानिसको मृत्यु भएमा पछिको जुठो पुरै बार्नुपर्छ । टाढाको साइनो भएमा पहिलो जुठो सकिँदा नै दुबै सकिन्छ ।

    – आमाबुबा वा पतिपत्नीको सन्दर्भमा अघिल्लो मरणाशौचले पछिल्लो मरणशौच (जुठो) लैजान्छ भन्ने नियम लागु हुँदैन ।

    – जन्मको सूतक नसकिँदै जुठो प¥यो भने जुठो १० दिन बार्नुपर्छ ।

    – जुठो बारेको दशौं दिनको मध्यरातिसम्म अर्को जुठो थपियो भने थप २ दिन मात्रै जुठो बारे हुन्छ । कुनै–कुनै कुलमा पुरै दिन बार्नुपर्ने उल्लेख भएकाले कुल अनुसारको नियम मान्ने गरिन्छ ।

    – अनिक्रान्ता अर्थात् जसको जतिदिन जुठो लाग्ने हो, त्यो समय बितिसकेपछि सुनेको जुठोमा आमाबुबा, पतिपत्नीबाहेक अरुलाई स्नान मात्रै गरे हुन्छ । अरुलाई तोकिएअनुसार नै बार्नुपर्ने हुन्छ ।

    – १० दिने जुठो १० भित्र सुनेमा बाँकी दिन बार्ने, १० दिन बितेपछि ३ महिनाभित्रमा सुने ३ दिन बार्ने, ६ महिनाभित्र सुनेमा १.५ (डेढ) दिन बार्ने, ९ महिनाभित्र सुनेमा १ दिन बार्ने, त्यसपछि सुनेमा स्नानमात्रैले पनि शुद्ध भइन्छ ।

    sourse: onlinekhabar.com 


    1088 0 10/3/2019 @ 07:11

तपाईका प्रतिक्रियाहरु

नेपाली टाईप गर्नको लागि (Press Ctrl+g to toggle between English and Nepali)

Advertisements
Top