• Newsenepal

    सप्तकोशीमा के चल्दैछ ? डुंगा हो कि पानीजहाज ?


    काठमाडौं । अघिल्लो महिना धनकुटाको एक सडक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले चाँडै सप्तकोशीमा पानीजहाज आउने बताएका थिए । प्रधानमन्त्रीले कार्यालय नै खोलेर पानीजहाजको टिकट काटिने बताएपछि ओली हाँसोको पात्र बने ।

    सामाजिक सञ्जालमा ‘पानीजहाजको टिकट कहाँ पाइन्छ, ‘लु मचाहिँ हिँडे जहाजको टिकट काट्न लगायतका धेरै व्यंग्यात्मक स्टाटसहरुले सामाजिक सञ्जालका भित्ता रंगिए ।

    ओलीका समर्थकहरुले भने मुलुकमा पानीजहाज आइसकेको भन्दै फेसबुकका भित्ता रंगाए । कतिपयले ‘सामाजिक सञ्जालका भित्तामा हावा कुरा भनेर प्रधानमन्त्रीको खिल्ली उडानेहरुलाई गतिलो झापड’ क्यापशन लेखेर सप्तकोशीमा सञ्चालन भइरहेको ‘जेट बोट’का तस्वीरहरु पोष्ट गरे । उनीहरुले जेटबोटलाई नै ‘पानीजहाज’ को उपमा दिए ।

    यस्तो चर्चा–परिचर्चा कायमै रहेका बेला हामी सुनसरीको चतरा र उदयपुरको बेलका नगरपालिकाको सीमानामा रहेको सप्तकोशी नदीसम्म पुग्यौं । र, त्यहाँ देखिएका वास्तविकता बुझ्ने प्रयास गर्‍यौं । त्यहाँ पुग्दा प्रष्ट भयो, आखिर पानी जहाज भनिएको त्यही जेटबोट रहेछ, जुन ओली सरकार गठन हुनुभन्दा धेरै पहिलेदेखि सञ्चालनमा आउँदै र रोकिँदै गरेको थियो ।

    ४ सय तिरेपछि बराहक्षेत्रसम्म जलयात्रा

    सुनसरी र उदयपुरको सीमानामा निर्मित नयाँ कोशी पुलबाट सप्तकोशी नदीमा हेर्दा जेट बोट यात्रु बोकेर सरर कुदिरहेको दृश्य देखिन्छ । पुलभन्दा थोरै तल सुनसरीतर्फको भू–भागमा जेटबोट स्टेशन पनि बनाइएको छ ।

    त्यस स्टेशनमा ४ सय रुपैयाँको टिकट काटेपछि बराहक्षेत्र मन्दिरको दर्शन गरेर पुनः त्यहीँ ठाउँमा फर्किन सकिन्छ । हामी त्यस स्टेशनसम्म पुग्यौं । त्यहाँ पुग्दा जेट बोटले धमाधम मान्छे ओरालिरहेको थियो । हामीले जेट बोट चलाइरहेका एकजनासँग छोटो कुराकानी गर्‍यौं ।

    जेटबोटका अपरेटरले भने, ‘हामी यहाँबाट भोजपुरको सिम्लेसम्म जान्छौं, सिम्लेको भाडा एकतर्फी ४ सय र दुईतर्फी ८ सय रुपैयाँ लाग्छ । तर धेरैजसो चाहिँ कोशी पुलबाट बराहक्षेत्रसम्म जाने यात्रुहरु भेटिन्छन् ।’

    बराहक्षेत्र एक चर्चित धार्मिकस्थल हो । त्यहाँ दैनिक दर्शनार्थीहरु आवत जावत गर्छन् । अझ विशेष मेला पर्वमा त बराहक्षेत्रसम्म पुग्नका लागि सवारी साधन नै नपाइने गरी भीडभाड हुन्छ । भारतदेखि ठूलो संख्यामा दर्शनार्थीहरु आउने गर्छन् ।

    यहाँबाट बराहक्षेत्रसम्म पुगेको शुल्क चाहिँ कति ? हामीले तिनै अपरेटरलाई सोध्यौं । उनले भने ‘एकतर्फी २ सय हो, तर दर्शन गरेर फर्किने भएकाले हामीले ४ सय रुपैयाँको टिकट काट्ने गरेका हौं ।’

    कुराकानी गर्दागर्दै उनले बोटलाई घुमाई हाले । यात्रु ओसार्न भ्याईनभ्याई जस्तै देखियो । सप्तकोशी यो मात्रै नभएर अन्य बोटहरु पनि सञ्चालित छन् । अझै थप आउने क्रममा समेत रहेका छन् ।

    डुंगा दुर्घटनापछि जेटबोट आयो, यसैलाई भनियो पानीजहाज

    हाल सप्तकोशीमा चारवटा जेट बोट सञ्चालित छन् । केपी ओली दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि स्प्तकोशीमा सञ्चालित यी बोटहरुको विशेष चर्चा हुन थालेको छ । तर, यी भर्खरै सञ्चालित भएका भने होइनन् ।

    सप्तकोशीमा ०६४ सालमा आएको बाढीले पूर्व–पश्चिम राजमार्ग करिब १० किलोमिटर भत्कायो । धार परिवर्तन गरेर सडकबाटै नदी बग्न थालेपछि पूर्व–पश्चिम राजमार्गको यो खण्ड बन्द भयो । तत्कालीन समयमा कोशीलाई पुरानै धारबाट बगाउन सम्भव नभएकाका कारण यात्रुहरु सप्तरीको कञ्चनपुर फत्तेपुरबाट उदयपुरको रामपुर ठोक्सिला हुँदै सप्तकोशी नदीमा डुंगा तरेर सुनसरीतर्फ जानुपर्ने बाध्यता सिर्जना भयो ।

    पूर्वबाट काठमाडौंतर्फ आउने तथा पश्चिमबाट सुनसरी, मोरङ, झापातर्फ जानका लागि यात्रुहरु सुनसरी र उदयपुरको सीमानामा रहेको काठे डुंगाबाट जोखिमपूर्ण यात्रा गर्न विवश भए । हो, त्यसबेलैदेखि सप्तकोशीमा यस्तो बोट (मेसिनबाट चल्ने डुंगा) सञ्चालन हुन थालेको हो, ओली सरकारका पालामा होइन ।

    यही क्रममा ०७० साल साउनमा दर्जनौं बेपत्ता हुने गरी भएको डुंगाा दुर्घटनापछि परम्परागत डुंगाको साटो जेट बोटको प्रयोग अझ बढेको हो ।

    कोशी ब्यारेजमा रहेको पुलको विकल्पमा सरकारले सुनसरी र उदयपुरको सीमानामा वैकल्पिक पुल निर्माण गरिसकेपश्चात डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हाललाई टरेको छ । तत्कालीन अवस्थामा कोशी तर्नका लागि प्रयोग हुँदै आएको मेसिन बोट भने नदी तर्नमात्रै नभएर केही लामो यात्राका लागि प्रयोग हुन थालेको छ ।

    एउटा मात्रै बोट सञ्चालन भइरहेको अवस्थामा केही वर्ष पहिले बराहक्षेत्र जल यातायात प्रालिले अर्को बोट पनि भित्र्यायो । हाल यी दुबै बोटले यात्रुहरु ओसारिरहेका छन् ।

    केही साता पहिलेमात्रै बराहक्षेत्र मारिन एण्ड रिसोर्ट प्रालिले समेत २ वटा सुविधासम्पन्न बोट सप्तकोशीमा झारेको छ । योसँगै सप्तकोशीमा यस्ता साधनको संख्या अहिले पुगेको छ ।

    तत्कालीन नेकपा माओवादीका केन्द्रीय सदस्य रमन भट्टराईको रंगमहल रिभरल्याण्ड प्रालि नामक कम्पनीले समेत विभिन्न प्रकारका ५ वटा जल यातायातका साधनहरु ल्याउने तयारीमा थालेको छ ।

    यसरी ०६४ सालदेखिकै प्रयोग भए पनि यसको खास चर्चा शुरु भएको चाहिँ लामो समय भएको छैन । तत्कालीन अवस्थामा यी साधनहरुलाई स्थानीयले मेसिन बोट (मेसिनबाट चल्ने डुंडा) भन्थे । अचेल यसलाई ‘पानीजहाज’ नै भन्न थालिएको छ ।

    प्रधानमन्त्री ओलीले पानीजहाज चलाएर छाड्ने बताएपछि हाल यिनै मेसिनबाट चल्ने डुंगाहरुलाई पानीजहाजका रुपमा व्याख्या गर्न थालिएको स्थानीयले अनलाइनखबरलाई बताए ।

    एकसय यात्रु बोक्ने अत्याधुनिक ‘बोट’

    भर्खरै बराहक्षेत्र मारिन एण्ड रिसोर्ट प्रालिले २ वटा बोटहरु सपतकोशीमा ओरालेको छ । यद्यपि यसले व्यवसायिक यात्रा भने शुभारम्भ गरिसकेको छैन । यसका प्रमुख सञ्चालक सुनसरी चक्रघट्टीका नविनकुमार पौडेल हुन् ।

    आफूले ल्याएको जलयातायातको साधन उनी ‘पानीजहाज’ नै भएको दाबी गर्छन् । यसअघि सञ्चालन भइरहेको भन्दा पौडेलले ल्याएका दुबै बोट नयाँ र आधुनिक छन् । उनले ल्याएको मध्ये एउटा बोटमा एक सय जना सम्म यात्रु बोक्न सकिन्छ ।

    ‘८० वटा सिट छन्, फूल एयर कण्डिसनवाला जहाज हो’ सञ्चालक पौडेलले अनलाइनखबरसँग भने, ‘यो जहाजको सिटमा ८० जना र उभिएर २० जनाले यात्रा गर्न सक्छन्, यसको क्षमता एक सय जनाको हो ।’

    हाल चलिरहेको बराहक्षेत्र–चतरामात्रै नभएर कोशी ब्यारेजदेखि काभ्रेको दोलालघाटसम्म यस्तो जहाज चलाउने आफ्नो योजना रहेको उनले बताए । तर, एक सय सिट क्षमताको ‘जहाज’ भने कोशीमा पानीको बहाव कम भएका कारण धेरै टाढासम्म चल्न नसक्ने उनले बताए ।

    ‘यो ठूलो जहाज तत्कालका लागि बराहक्षेत्रसम्म मात्रै चलाउँछु, टाढासम्म चलाउन यसलाई पानीको बहाव धेरै चाहिन्छ’ उनी भन्छन्, ‘पानीको बहाव कम छ र ठाउँठाउँमा ढुंगा भएका कारण पनि यो जहाज सप्तकोशीमा लामो यात्रा गराउन सकिँदैन ।’

    ठूलो जहाजलाई बराहक्षेत्रसम्म लैजानका लागि मेसिन लगाएर बाटो बनाइरहेको उनले सुनाए । नदीको बीचमा भेटिएका ढुंगाहरु हटाएर ठूलो जहाजलाई बराक्षेत्रसम्म ओहोर– दोहोर गराउने र सानोलाई भोजपुरको सिम्ले हुँदै काभ्रेको दोलालघाटसम्म चलाउने आफूले योजना बनाएको पौडेलले बताए ।

    जल यातायातका लागि बाटो बनाउन सरकारले समेत सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

    ‘सप्तकोशी अब पर्यटकी हव बन्छ’

    सप्तकोशी नदीलाई पर्यटकीय हब बनाउने योजनाअनुसार आफूले जहाज भित्र्याएको पौडेल बताउँछन् । जहाजपछि चाँडै नै रिसोर्टसमेत आफूले सञ्चालन गर्ने उनले बताए । जहाजसँगै रिसोर्ट सञ्चालन गर्नसके पर्यटकहरु घुम्नकै लागिमात्रै पनि सप्तकोशी किनारामा आउने उनको तर्क छ ।

    उनले भने, ‘गाउँका यात्रुसँगै पर्यटकहरु पनि भित्र्याऔं भन्ने मेरो सोच हो, फेरि चतरामा १२ वर्षमा लाग्ने कुम्भ मेला, बराहक्षेत्र मेला लगायतमा धेरै आन्तरिक तथा बाह्य पर्यटकहरु आउँछन् उनीहरुलाई केही सप्तकोशी किनारामै बस्न रमाउन मिल्ने बनाउने मेरो सोच छ ।’

    जहाजसँगै रिसोर्टसमेत सञ्चालनका लागि आफूले कम्पनीको नाम नै बराहक्षेत्र मारिन एण्ड रिसोर्ट प्रालि राखेको उनले बताए ।

    त्यसैगरी अर्को ‘जहाज’ भित्र्याउने तयारीमा रहेका नेकपा नेता रमन भट्टराईले पनि आफूले यस क्षेत्रलाई पर्यटकीय हब बनाउनका लागि तयारी गरिरहेको बताए । आफूले पर्यटकहरुलाई तान्नका लागि ५ वटा विभिन्न प्रकारका जल यातायातका साधनहरु यहीँ महिना ल्याइसक्ने उनले बताए ।

    यसका लागि पर्यटन विभागबाट अनुमति समेत लिइसकेको उनले बताए । ‘हामीले यातायातका लागि भन्दा पनि वाटर फनका लागि ५ वटा साधनहरु ल्याउँदैछौं’ भट्टराईले भने, ‘हाम्रो चाहना भनेको युरोप लगायतका देशमा गएर वाटर फनका लागि गरिने खर्च स्वदेशमै होस् भन्ने हो ।’

    उनले यात्रु बोक्ने दुई वटा जहाज, २ वटा जेट स्की र २ वटा बनाना बोट ल्याउन लागिएको बताए । आफूले यी सामाग्रीहरु ल्याएपछि वाटर फनका लागि सिंगापुर र आयरल्याण्ड पुग्न नपर्ने उनले दाबी गरे । सिंगापुर, आयरल्याण्ड लगायतका समुन्द्रहरुमा पाइने वाटर फन (पानीमा रमाइलो) सप्तकोशीमै गर्न पाइने भट्टराईको दाबी छ ।

    हाल सञ्चालन भइरहेको पौडेलको जहाजमा चढेर फोटो खिच्न वा हेर्नका लागि मात्रै पनि ५० रुपैयाँ टिकट काट्नुपर्ने व्यवस्था गरिएको छ । जहाजमा यात्रा नगर्ने तर हेरेर फोटो खिच्नका लागि टिकट काट्ने स्टेशन राखिएकोे छ, जसको यसको शुल्क ५० रुपैयाँ उठाउने गरिएको छ ।

    भाडा महंगो भएको स्थानीयको गुनासो

    हाल कायम गरिएको भाडाका विषयमा भने स्थानीयहरुको गुनासो छ । हाल कोशी पुलबाट बराहक्षेत्रसम्म पुग्नका लागि ओहोर–ओहोरको ४ सय रुपैयाँ कायम गरिएको छ ।

    उक्त भाडा भने महंगो भएको स्थानीयहरु बताउँछन् । यसमा सवार यात्रुहरुले समेत यो भाडा घटाउन सुझाव दिएका छन् ।

    सप्तकोशी किनारामै भेटिएकी झापाकी रमा श्रेष्ठले जहाजको भाडा महंगो भएको बताइन् । सहज तरिकाले यात्रा गर्न पाएकोमा खुसी भएको भए पनि भाडा भने महंगो भएको र तत्कालै घटाउनुपर्ने उनले बताइन् ।

    ‘बराहक्षेत्र दर्शन गर्न हामी ८ जना आएका थियौं, ४/४ सयले पनि धेरै खर्च भयो’ उनले भनिन्, ‘यसलाई घटाउन सरोकारवाला लाग्नुपर्‍यो ।’

    स्थानीय रुद्र आचार्यले पनि भाडा अलि महंगो भएको बताए । भाडामा थोरै सहुलियत दिएमात्रै पनि यात्रुहरुलाई सहज हुने उनले बताए । रमाईलो गरेर खर्च गर्नेका लागि धेरै जस्तो नलागे पनि कामका लागि जानैपर्ने बाध्यता भएकालाई धेरै महंगो भएको उनले बताए ।

    यसअघि नेकपा उदयपुरका नेता कालु लामाले सामाजिक सञ्जालमै भाडा अत्यधिक महंगो भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । यद्यपि, सुनसरी तथा उदयपुरको स्थानीय प्रशासनले भने भाडाका विषयमा ध्यान दिएको छैन । जहाज सञ्चालक पौडेल भने हाल कायम गरिएको भाडा धेरै महंगो नभएको बताउँछन् ।

    ७ वटा कम्पनी पर्यटन विभागमा

    यसैवीच बोट सञ्चालनका गर्न ७ वटा कम्पनीहरुले पर्यटन विभागमा निवेदन दिएका छन् । नारायणी नदीमा एउटा र बाँकी ६ वटा सबै सप्तकोशीमा सञ्चालनका लागि निवेदन प्राप्त भएको विभागकी योजना तथा पूर्वाधार महाशाखाकी शाखा अधिकृत रचना प्रधानले अनलाइनखबरलाई जानकारी दिइन् ।

    उनका अनुसार २ वटा कम्पनीले सञ्चालनका लागि पूर्वसहमति लगिसकेका छन् भने बाँकी लैजाने प्रक्रियामा रहेका छन् । सञ्चालनका लागि अन्तिम स्वीकृति भने स्थलगत निरीक्षणपछि मात्रै विभागले दिने प्रधानले बताइन ।

    प्रधानका अनुसार रंगमहल रिभरल्याण्ड प्रालि, कोशी एड्भेञ्चर प्रालि, बराह जलयातायात प्रालि, बराह मरिन तथा रिसोर्ट प्रालि, अरुण भ्याली एड्भेञ्चर प्रालि र आयुश्मा मोटर बोट प्रालिले सप्तकोशीमा सञ्चालन गर्न अनुमति माग गरेका छन् । त्यसैगरी राइनो वाटर प्रालिले नारायणी नदीमा सञ्चालनका लागि अनुमति माग गरेको उनले बताइन् ।

    प्रधानका अनुसार पूर्वसहमति लगिसकेकाले स्थलगत निरीक्षणका लाग अनुरोध गरेपछि विभागले निरीक्षण गरेर उपर्युत्तः ठहरे सञ्चालन अनुमति प्रदान गर्नेछ । तर यि सबै यातायातको रुपमा भन्दा पनि पर्यटकलाई घुमाउनका लागि मात्रै विभागले अनुमति दिने उनले बताइन् । यातायात सेवाका लागि भने पर्यटन विभागले स्वीकृति प्रदान नगर्ने उनले बताइन् ।


    1050 0 2/4/2019 @ 14:30
  • ktm वरपरका खबरहरु

    Newsenepal द्वारा लिखित अन्य खबरहरु

तपाईका प्रतिक्रियाहरु

नेपाली टाईप गर्नको लागि (Press Ctrl+g to toggle between English and Nepali)

Advertisements
Top