• जीवन श्रेष्ठ

    यी हुन् विदामा घुम्न जाने २० ठाउँ


     नेपालीहरुको महान चाड दशैं लागिसकेको छ । दशैंमा सबैभन्दा लामो बिदा हुन्छ । यही बिदाको सदुपयोग गर्दै घुम्न जानेहरु प्रचलन पनि बढ्दो छ । तपाईं पनि दशैं बिदामा घुम्न जाने सोचमा हुनुहुन्छ भने हामीले तपाईंका लागि नेपालकै विभिन्न ठाउँहरु उपयुक्त हुन सक्छन् भनेर जानकारी दिन खोजेका छौं । रोजाई भने तपाईंको आफ्नै हो ।

    पछिल्लो समय दसैं विदामा परिवार तथा साथीभाइसँग घुम्न जानेहरु नेपालीहरु बढ्न थालेका छन् । राम्रो आम्दानी हुनेहरु विदेश घुम्न जान्छन् । सानो बजेटमा घुमफिर गर्न चाहानेहरुको रोजाइ चाँहि नेपालकै विभिन्न ठाउँहरु हुने गरेका छन् ।

    नेपालमा घुमफिर गरेर रमाइलो गर्नका लागि प्रशस्त ठाउँ रहेका छन् । यदि तपाई दसैं विदामा घुम्न जानका लागि उपयुक्त ठाउँ खोजिरहनु भएको छ भने हामी केही गन्तव्यका बारेमा जानकारी गराउँछौं ।

    पछिल्लो समय समुहनै बनाएर घुम्न जाने प्रचालन बढ्दो छ । परिवार र साथी भाइसहित दशै विदामा घुम्न चहानेहरुका लागि विभिन्न स्थानहरु छनोट गर्न सकिन्छ ।सवैलाई लामो र छोटो विदा सरकारी देखि निजी क्षेत्रका कार्यरत कर्मचारीहरुलाई अवस्य मिलेको हुन्छ । जसमा साथीहरुसंग र पारिवारिक भ्रमण गरेर विदाको सदुपयोग गर्न सकिन्छ । नेपालमा धेरै गन्तव्यमा घुम्न जान सकिन्छ । केही गन्तव्यको बारेमा तल उल्लेख गरिएको छ । 

    पोखरा

    अन्नपूर्ण तथा धौलागिरी श्रृंखलाको काखमा अवस्थित फेवाताल र पोखरा उपत्यका              अन्नपूर्ण तथा धौलागिरी श्रृंखलाको काखमा अवस्थित फेवाताल र पोखरा उपत्यका

    पर्यटकीय नगरी पोखरा घुमफिरका लागि आकर्षक गन्तव्य हो । विदाको समयमा पोखरा भ्रमणमा जाने स्वदेशी पर्यटकहरु प्रशस्त हुने गर्छन् । नयाँ वर्ष, दसैं तथा विदाको समयमा यहाँका होटलहरु भरिभराउ हुने गरेको व्यवसायीहरु बताउँछन् ।

    पोखराको पहिलो आकर्षण भनेको फेवाताल हो । जहाँ डुङ्गामा शयर गर्दै सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न पाइन्छ । माछापुच्छ्रे हिमाल पनि यहीँबाट देखिन्छ । पोखराको जुनसुुकै ठाउँबाट उत्तरतर्फ सेता हिमालहरु देख्न सकिन्छ ।

    पोखरामा घुमफिरका लागि डेभिड फल्स, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, चमेरी गुफा, बेगनाश ताललगायतका मनमोहक ठाउँहरु रहेका छन् । सराङकोट यहाँको अर्को आकर्षण हो । सराङकोटबाट पोखरा सहर, फेवाताल, सेता हिमाल लगायतको दृश्यावलोकन गर्न पाइन्छ ।

    पछिल्लो समय पोखरा साहसिक खेलको गन्तव्यका रुपमा विकास भएको छ । सराङकोटबाट प्याराग्लाइडिङ र जिप फ्लायर गर्नुको मज्जा बेग्लै रहेको छ । त्यस्तै, अल्ट्रालाइट उडान पनि पोखरामा गर्न पाइन्छ । पछिल्लो समय पोखरामा बञ्जी समेत सञ्चालनमा आएको छ ।

    सौराहा
    sauraha-2

                                         चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा वाइल्ड लाइफ

    नेपालको तेस्रो पर्यटकीय गन्तव्य हो, पोखरा । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा वाइल्ड लाइफ पर्यटनमा विश्वमै चर्चित रहेको छ । यहा वर्षेनी लाखौं स्वदेशी विदेशी पर्यटकहरु पुग्ने गर्छन् ।

    यहाँको प्रमुख आकर्षण भनेको हात्तीमा जंगल सफारी गर्नु हो । हात्ती तथा जीप सफारी गर्दै बाघ, गैंडा, घडियाल अवलोकन गर्न पाइन्छ । राप्ती नदीमा बोटिङ गर्दा गोही, गैंडा लगायतका जनावर देखिन्छन् । यसको अलवा यहाँ थारु कल्चर समेत अवलोकन गर्न सकिन्छ ।

    नारायणगढबाट नजिकै रहेको सौराहामा दसैं तिहारलाई लक्षित गरेर होटल व्यवसायीहरुले आकर्षक प्याकेज समेत ल्याएका छन् । करिव ५ हजार रुपैयाँमा २ रात तीन दिन सौराहा घुम्न पाइने छ ।

    दसैं विदामा सौराहा उत्तम गन्तव्य हुनसक्छ । यहाँ सामान्य होटलदेखि स्तरीय होटलसम्म सञ्चालनमा रहेका छन् ।

    लुम्बिनी

    Lumbini-FInal
    गौतम बुद्धको जन्मस्थान लुम्बिनी अर्को आकर्षक गन्तव्य हो । दसैं विदा मनाउनका लागि लुम्विनी उत्तम हुनसक्छ । भैरहवाबाट नजिकै रहेको लुम्बिनी विश्वभर चर्चित रहेको छ ।

    पछिल्लो समय विदेशीमात्र होइन नेपालीहरुको लुम्बिनी बाक्लो उपस्थिती देखिन थालेको छ । यहाँको प्रमुख आकर्षण भनेको मायाँदेवी मन्दिर हो । अत्यन्तै सुन्दर रहेको लुम्बिनीमा विभिन्न देशका कलात्मक गुम्बाहरु रहेका छन् । सबैभन्दा राम्रो गुम्बा बनाउन विभिन्न देशहरुबीच प्रतिस्पर्धा भएको आभाष मिल्छ ।

    दामन

    मकवानपुरको दामन पनि पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । राजधानीबाट नजिक रहेको दामनमा राम्रा राम्रा होटल तथा रिसोर्ट समेत खुलेका छन् ।

    कुलेखानी हुँदै पुगिने दामन प्राकृतिक दृश्यावलोकनका लागि परिचित रहेको छ । अग्लो स्थानमा रहेको दामनबाट सुन्दर हिमाल, बनजंगल, स्थानिय संस्कृतिको अवलोकन गर्न पाइन्छ ।

    पाथीभरा दर्शन


    ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा मन्दिर हिन्दुधर्मालम्बीहरुको प्रसिद्ध तिर्थस्थल हो । विभिन्न स्थानहरुको अवलोकन गर्दै कन्याम चिया बगानमा जाने र सोही क्षेत्रमा बसोबास गर्ने ।

    आधा दिन चिया बगानको अवलोकन गर्ने साथै सो दिन अन्तुडाडाँमा बासोबास गर्ने । अन्तु डाँडाँबाट ६ घन्टाकोे सवारीमा यात्रापछि ताप्लेजुङ पुग्न सकिन्छ सो दिन सोही स्थानमा बस्ने । ताप्लेजुङ बजार क्षेत्र, पाथीभरा मन्दिर क्षेत्रको दर्शन पछि सो दिन तप्लेजुङमानै बस्ने ।

    रारा ताल

    सडक क्षेत्रको पहुँच भएपछि मुगु जिल्लाको रारा ताल धेरैका लागि पर्यटकीय गन्तव्य बन्नपुगेको छ । समुद्रि सतहदेखि तीनहजार मिटर उचाइमा रहेको रारा तालले सुन्दरताका अनेक उपनाम पाएको छ । रारासँगै यस आसपासको पर्यटन पनि फस्टाउँदो छ । गर्मि समयमा रारा तालको यात्रा सुखद अनुभुति बन्न सक्नेछ । रारा तालको अवस्थिती र आकार नै प्राकृतिक सुन्दरताको उच्चतम नमुना मानिन्छ ।

    तालसँगै रहेको जङ्गल र आसपासका मनोरम दृश्य रारा तालमा आकर्षण बढाउन पर्याप्त छन् । रारा ताल टे«्किङ्का लागि पनि प्रसिद्ध छ । एक हप्तादेखि १० दिनसम्मको समय रारा तालको घुमघामका लागि पर्याप्त हुन सक्छ ।

    डोल्पा

    से फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने डोल्पो अहिलेसम्म आन्तरिक पर्यटकका लागि अझै गन्तव्य बन्न सकेको छैन । गर्मिमा टेकिङ र ग्रामिण क्षेत्रको खास अनुभुति गर्ने चाहना छ भने डोल्पोलाई रोजाइमा राख्नुहोस ।

    यात्रा अवधिभर देखिने हिमालका अनेक रुप र वन्यजन्तुका रहर लाग्दा गतिविधि डोल्पोका आकर्षणका माध्यम हुन् । स्थानीय संस्कृति पनि आन्तरिक तथा बाह्य दुवै पर्यटकका लागि नयाँ अनुभव बन्न सक्छन् ।

    तल्लो र माथिल्लो गरी डोल्पोमा दुई ओटा टे«किङ रुट छन् । नेपालगञ्जबाट दुनै हुँदै ताराकोट र तारफ खोलापछि डोल्पो क्षेत्र प्रवेश गरीन्छ । पुरा क्षेत्रको टे«किङको लागि कम्तिमा तीनहप्ता लाग्छ । 

    नगरकोट
    nagarkot
    काठमाडौंबाट नजिकै रहेको नगरकोट प्रमुख पर्यटकीय गन्तव्य हो । नगरकोटबाट राम्रा राम्रा दृश्यावलोकन गर्न पाइन्छ । यहाँ परिवारसँग गएर समय बिताउन मज्जा हुन्छ । बस्नका लागि सस्तादेखि महंगा सबैखाले होटलहरु यहाँ रहेका छन् ।

    नगरकोटबाट काठमाडौं उपत्यकाको शुन्दर दृश्यावलोकन गर्न पाइन्छ । नगरकोटको डाँडोमा रहेको भ्यू टावरबाट नजिकै हिमालहरु मुस्कुराएको देख्न पाइन्छ । सुर्योदय र सुर्यास्त हेर्नका लागि पनि नगरकोट प्रख्यात रहेको छ ।

    बन्दीपुर

    तनहुँको बन्दीपुर पुरानो बजार हो । पुराना घरहरुलाई कलात्मक रुपमा सिंगारिएको बन्दीपुर मुलुककै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एकमा पर्न सफल भएको छ । डुम्रेबाट ८ किलोमिटरको दूरीमा रहेको बन्दीपुरमा स्वदेशी विदेशीको बाक्लो भिड लाग्ने गर्छ ।

    यहाँको आकर्षण भनेको नेवारी वस्ती र सुन्दर दृश्यावलोकन नै हो । यहाँबाट तनहुँको सुन्दर फाँटहरु, हिमाल लगायतका दृश्यहरु हेर्न पाइन्छ । वातावरणका हिसावले पनि यो ठाउँ उत्तम रहेको छ । दसैं विदामा बन्दीपुर गएर परिवार तथा साथीभाईसँग मज्जाले रात विताउन सकिन्छ ।

    घलेगाउँ

    Ghale-Gaun

    लमजुङको घलेगाउँ ग्रामिण पर्यटनका लागि प्रशिद्ध ठाउँ हो । होमस्टे मार्फत सेवा दिने घलेगाउँमा आतिथ्य सत्कार लोभलाग्दो छ । घलेगाउँ एकपटक पुग्नैपर्ने ठाउँ हो । यातायातको सुविधा पुगिसकेको घलेगाउँमा खान बस्नका लागि सुविधा रहेको छ ।

    घलेहरुको वस्ती रहेको घलेगाउँमा दसैं विदामा भ्रमणका लागि उत्तम गन्तव्य हो । एकपटक घलेगाउँ पुगेको मानिस त्यहाँको प्राकृतिक सुन्दरता, त्यहाँको बस्ती, त्यहाँका मानिसको आतिथ्य सत्कारका कारण जिन्दगीभर भुल्न सक्दैन ।

    जोमसोम/मुक्तिनाथ


    हिमाली जिल्ला मुस्ताङको राजधानी जोमसोम र त्यहाँ रहेको मुक्तिनाथ मन्दिर विश्वभर चर्चित रहेको छ । वर्षेनी लाखौं हिन्दू र बौद्धधर्मालम्बीहरु यहाँ पुग्ने गर्छन । यहाँको प्राकृतिक दृश्यावलोकनका लागि लाखौं पर्यटकहरु जोमसोम पुग्ने गरेका छन् ।

    हवाई तथा यातायात दुबै सुविधा पुगिसकेको मुक्तिनाथ दसैं विदा मनाउन जाने उपयुक्त ठाउँ हो । यो महिना पनि त्यहाँ जानका लागि उत्तम मानिन्छ । तेस्रो विश्वका रुपमा हेरिने सुन्दर भ्याली लोमान्थाङ पनि मुस्ताङमै पर्छ ।

    धनगढी

    सुदूरपश्चिमको धनगढी पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ । यहाँ पनि स्तरीय तारे होटलहरु खुल्न थालिसकेका छन् । यहाँ जहाज तथा सडक दुबैबाट पुग्न सकिन्छ ।

    धनगढी पुगेपछि कर्णाली नदीमा रहेको एशियाकै सबैभन्दा लामो झोलंगे पुल, ५५ किलोमिटरको दुरीमा रहेको शुक्लाफाँटा बन्यजन्तु आरक्ष लगायतका ठाउँहरु घुम्न पाइन्छ ।

    जनकपुर

    जानकी मन्दिर

    धनुषा जिल्लामा रहेको रामजानकी मन्दिर नेपालको प्रमुख धार्मीक गन्तव्यका रुपमा मानिन्छ । यहाँ नेपाली तथा भारतीय पर्यटकको ठूलो उपस्थिती हुने गरेको छ । पछिल्लो समय स्तरीय होटलहरु खुलिरहेको जनकपुरमा दसैं विदा मनाउनका लागि उत्तम गन्तव्य हुन सक्छ ।

    खप्तड

    सुदुरपश्चिमको खप्तड जान काठमाडौबाट सात रात आठ दिनको समय छुट्याउनुपर्छ । काठमाडौंबाट १५ घण्टाको वसयात्रा गरेपछि धनगढी पुगिन्छ ।

    धनगढीदेखि डोटी सदरमुकाम सिलगढीसम्म पनि वसमै आठघण्टाको यात्रा हुन्छ । सिलगढीबाट बखलेकसम्म जिप रिजर्भ गरेर कच्चीबाटोमा यात्रा गर्न सकिन्छ । पैदालयात्रा गर्दा भने सिलगढीबाटै सुरु गर्नुपर्छ ।

    हवाईजहाजबाट जाँदा भने धनगढी ओर्लेर सोही दिन सिलगढी पुगेर बास बस्न सकिन्छ । सिलगढीदेखि बखलेखसम्म जीप जाने कच्चि बाटो छ । त्यसका लागि रिर्जभ गर्नु पर्छ ।

    सिलगढीदेखि सुरु पैदलयात्राको पहिलो दिन विहानको खाना बगलेखमा खाएर झिगरानमा बेलुकाको बास हुन्छ । दोस्रो दिनको यात्रामै खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गर्न सकिन्छ । निकुन्जक्षेत्रमा पसेपछि यात्राको सबैभन्दा अप्ठ्यारो ठाडो उकालो सुरु हुन्छ । विहानको खाना बीचपानीमै खाएर जानु राम्रो हुन्छ ।

    त्यहाँबाट अघि बढेपछि खाना खाने ठाउँ पाइन्न । बीचपानीबाट चार घन्टा लाग्छ, निकुञ्जको मुख्यालय पुग्न । ठूल–ठूला चट्टान र घना जंगल र बाटोमा फूलेका रंगीचंगी फूलको बासनाले थकान मेटिन्छ ।

    दिनभरको यात्रापछि साँझ त्रिवेणी मन्दिर पुगिन्छ । त्रिवेणी मन्दिरबाट शुरु हुन्छ खप्तडक्षेत्रको सुन्दर दृश्य । खप्तडको त्रिवेणी मन्दिर, हरिया फाँट, थारु संस्कृति, डडेलधुरको उग्रताराम मन्दिर, डोटीको शैलेश्वरी र भागेश्वरी–सालमुनिको यस क्षेत्रका आकर्षण हुन । खप्तड यात्राको लागि काठमाडौं देखि १० दिनको समय उपयुक्त हुन्छ ।

    भोटेकोशी र त्रिशुलीमा र्‍याफ्टिङ

    साहसिक जलायात्रा र्‍याफ्टिङ लागि नेशनल जोग्राफी च्यानलले विश्वका दशौं उत्कृष्ट गन्तव्यमा भोटेकोशीलाई पनि राखेको छ । पछिल्लो समय भोटेकोशीमा जलयात्रा गर्ने आन्तरिक पर्यटकको संख्या पनि बढिरहेको छ ।

    काठमाडौंमा बसिरहेकाहरु छुट्टीको समयमा त्रिशुली र भोटेकाशी नदीमा र्‍याफ्टिङ गर्न आउने क्रम बढेको व्यावसायीहरुको भनाई छ । यी नदीमा बढीमा दुई दिने प्याकेजको व्यवस्था व्यावसायीहरुले गरेका छन ।

    भोटेकोशी र त्रिशुलीमा दिनभरी ¥याफ्टिङ गरेर साँझ आरम गर्न पनि सकिने तथा र्‍याफ्टिङ गरेर यहाँबाट काठमाडौ पनि पुग्न सकिन्छ । माथिल्लो भोटेकोशी र तल्लो भोटेकोशीमा याफ्टिङ व्यवस्था गरिएको छ । याफ्टिङ लागि माथिल्लो भोटेकाशी तल्लो भन्दा साहसिक मानिन्छ ।

    माथील्लो भोटेकोशीमा याफ्टिङ गर्दा केही कम अनुभवीलाई तल्लो भोटेकोशी उपयुक्त छ । पहिलो पटकमै पनि माथील्लो भोटेकोशीमा र्‍याफ्टिङ सकिन्छ । त्रिशुलीमा नदिमा परिवारसहित र्‍याफ्टिङ गर्न सकिन्छ । त्रिशुलीमा विद्यार्थी र अन्य आन्तरिक पर्यटकहरु र्‍याफ्टिङ  लागि आउने गरेका छन् । राजधानीबाट नजिकै र पहिलो पटक र्‍याफ्टिङ गर्नेलाई पनि यो उपयुक्त गन्तव्य हुन्छ ।

    पुनहिल पदयात्रा

    दसैं विदामा एक हप्ता घुम्न जानेहरुका लागि पुनहिल यात्रा उपयुक्त हुन्छ । ५ रात ६ दिनका लागि पुनहिल यात्रा उपयुक्त छ । धौलागिरी हिमाल हेर्दै पदयात्रा गर्नेलाई यो यात्राले भरपूर मनोरञ्जन दिन्छ ।

    पुनहिल पदयात्रामा बास बस्न समस्या छैन । पर्यटकीय नगरी पोखराबाट पुनहिल यात्रामा प्यारागलाईडिङको पनि मजा लिन सकिन्छ । प्याराग्लाईडिङका लागि भने थप एकदिन छुट्याउनुपर्छ ।

    पोखराबाट नयापूलसम्म सवारीसाधनको सुविधा छ । नयापूलबाट शुरु हुन्छ पुनहिल पदयात्रा पोखराबाट नयापूलसम्म गाडी र त्यहाँबाट पैदल हिंड्दा हिले पुग्न सकिन्छ । पदयात्राको दोस्रो दिन म्याग्दीको घोडेपानी पुगिन्छ ।

    समुद्री सतहबाट २९०० मिटरमा उचाईमा अवस्थित घोडेपानीबाट एकघण्टाको ठाडो उकालो चढेपछि पुनहिल डाँडामा पुगिन्छ । समुद्रीसतहबाट ३ हजार २ सय १० मिटर उचाईको पुनहिलबाट धौलागीरी, अन्नपुर्ण माछापुच्छे, निलगीरीसहित १५ वटा हिमालको मनोरम दृश्य हेर्न पाईन्छ ।

    पुनहिलको अर्को विशेषता धौलागिरीमा सुर्योदयको दृश्य हेर्न पाउनु पनि हो । धौलागीरीसहित माछापुच्छ्रे र निलगिरी हिमालबाट सूर्य उदाएको दृश्य हेरेपछि यात्राभरीको थकान भुल्न सकिन्छ ।

    लोमाङथाङ

    हिमालपारीको जिल्ला मुस्ताडको आफ्नै मौलिक संस्कृतिका कारण पनि प्रख्यात छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने लोमाङथाङ घुम्ने पर्यटकको संख्या बढिरहेको छ ।

    गत वर्ष करिब तीन हजार पर्यटक लोमाङाथाङ पुगेका थिए । लोमाङथाङ जाने पर्यटकहरुको संख्या प्रत्येक वर्ष बढिरहेको छ । गुजुमुक्क घरहरु । घरमाथि एकनासले राखिएका दाउराका थुप्रा । यही ठाउँमा गुजुमजुक्क घरहरु भन्दा भिन्न, अग्लो र लामो एउटा घर । जुन घरलाई देखेपछि सबैले अनुमान लगाउन सक्छन । लोमाङथाङको पहिचान बनाएको ऐतिहासक दरबार भनेर ।

    गुम्बाको जिल्ला भनिने मुस्ताड जान मोटरको सुविधा छ । उक्त क्षेत्रमा जाँदा मुस्ताङको मुक्तीनाथ पनि जाने उपयुक्त गन्तव्य हो ।

    लाङटाङ

    वरीपरी हिमालको वीचमा हिउँले ढाकिएको बस्ती । बस्ती नजिकै मन शान्त बनाउने ७ सय वर्ष पुरानो आकर्षक गुम्बा । ऐतिहासिक तथा धार्मिकरुपमा धेरै महत्व भएपनि गुम्वा भने जीर्ण अवस्थामा । यो जीर्ण गुम्वामा बौद्ध धर्मावलम्बीहरुको गहिरो आस्था छ ।

    जुन् गुम्बा हो, रसुवाको क्यानजेन गुम्बा । बाहिरबाट हेर्दा सानो र जीर्ण देखिने गुम्बाको भित्री भाग निकै आकर्षक र सुन्दर छ । नेपालमा आउने विदेशी पर्यटकहरुको तेस्रो रोजाईमा पर्छ लाङटाङ पदयात्रा ।

    पर्यटकको रोजाईमा सगरमाथा र अन्नपूर्ण पदयात्रा पछि पर्छ, लाङटाङ पदयात्रा । हिमाली जनजीवन र हिमालको मनोरम दृश्यका लागि चर्चित छ, लाङटाङ पदयात्रा ।

    हलेसी महादेव दर्शन टुर

    नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को सहकार्यमा हलेसी महादेव दर्शन टुर प्याकेज सार्वजनिक गरिएको छ ।

    आन्तरिक पर्यटकलाई लक्षित गरी सार्वजनिक गरिएको उक्त प्याकेजमा विशेष गरी धार्मिक पर्यटकहरु समावेश हुन सक्ने छन । खोटाङ जिल्लामा रहेको हलेसी महादेव बौद्ध धर्मालम्बीहरुको लागि समेत चिर्चित क्षेत्र हो ।

    उक्त क्षेत्रमा जानको लागि हवाई र सडक दुवै प्रयोग गर्न सक्ने छन । खासगरी हवाई मार्गको प्रयोग गर्दा पहिलो दिन काठमाडौ–कटारी, जनकपुर अथावा विराटननगर जुन सुकै स्थानमा पनि जान सकिन्छ । त्यो दिन कटारीका बसेर पहिलो दिन बास बस्नुपर्ने हुन्छ ।

    कोशी क्षेत्रको अवलोकन

    कोशी क्षेत्रमा जान पनि हवाई र सडकदुवै मार्गको प्रयोग गर्न सक्दछन । पाँच दिन सम्म संचानल हुने प्याकेज हो । काठमाडौं बाट विराटनगर हवाई मार्ग मार्फत पनि जान सकिन्छ ।

    आधा दिन नजिकमा क्षेत्रहरुको अवालोकन, साथै सोही दिन ६० किलोमिटर दुरी पार गर्दै कोशी टप्पु क्षेत्रमा जान सकिन्छ । सो दिन सोही क्षेत्रमा बसोबास । कोशी टप्पु बाट फर्किएर बराह क्षेत्रको अवलोकन गर्न सकिन्छ ।

    त्यसको साथै सप्त कोशी नदीको बाँध स्थल लगायत अन्य क्षेत्रको अवलोकन र सोही दिन भेडेटारमा बसोबास । नाम्जे भिलेज, पानी ट्यांकी डाडाँ, धनकुटा तथा नमस्ते झरनाको अवलोकन । पार्खीवास गाँउको अवलोकन तथा ५ किलोमिटर दुरीमा रहेको हिले बजारको अवलोकन गर्न सकिन्छ ।

     


    1195 0 10/15/2018 @ 15:36
  • ktm वरपरका खबरहरु

    जीवन श्रेष्ठ द्वारा लिखित अन्य खबरहरु

तपाईका प्रतिक्रियाहरु

नेपाली टाईप गर्नको लागि (Press Ctrl+g to toggle between English and Nepali)

Advertisements
Top