• जीवन श्रेष्ठ

    सालकाे पात .....बिषयमा बसन्त र रबिकाे जुहारी...


    काठमाडौं । नेपाल आइडल रवि ओडले अष्ट्रेलियामा ‘सालको पात’ गाउँदा भएको त्रुटीबारे मुख खोलेका छन् । दर्शकको मागअनुसार ‘वाध्यतावश’ गीत गाउनुपर्दा राम्ररी न्याय गर्न नसकेको उनले बताएका छन् ।

    फेसबुकमा स्टाटस लेख्दै रविले आफ्नो प्रष्टिकरण दिएका हुन् । उनले लेखेका छन्, ‘दर्शक, श्रोतामाझ पर्फम गरिरहँदा कोही बेला यस्तो माग वा परिस्थिति आउँदोरहेछ, जहाँ आफूले तयार नगरेको वा पूरा नआउने गीतलाई गुन्गुनाइदिनुपर्ने अनुरोध आउँछ । ‘सालको पातको टपरी’ मा मलाई यस्तै बाध्यता आइलागेको हो ।’

    आफूले यो गीत पूरा र राम्ररी आउँदैन भन्दा पनि दर्शकहरुले धर नदिएको रविले बताएका छन् । ‘दर्शकहरुको अपार मागको अगाडि मैले जे जति आउँछ गाउनैपर्ने वाध्यता आइलाग्यो र शुरुमै मैले आग्रह गरेको थिएँ कि यदि गल्ती भएमा क्षमाप्रार्थी छु ।’

    यो गीतलाई बंग्याउने वा अपमान गर्ने आफ्नो मनशाय नभएको र श्रद्धापूर्वक गाउने प्रयास गरेको रविले प्रष्ट पारेका छन् । उनले अगाडि लेखेका छन्, ‘दर्शक श्रोता शुभचिन्तकहरुको अपार माया हौसला र साथले मैले नेपाल आइडल जितेको हुँ । त्यसको अर्थ यो होइन मेरो प्वाँख पलाई आकाशमा उडी आफ्नो पृष्ठभूमि नै भुलेको ।’

    आफू कुनै स्थापित कलाकार नभइसकेको र आफ्नो गीत नगण्य भएकाले अन्य सर्जकहरुको गीत गाउनुपर्ने वाध्यता पनि उनले पेश गरेका छन् ।

    रविको पत्रको पूर्णपाठ यस्तो छ : 

    नमस्ते सबै महानुभावहरुमा !!!

    म सधैं भन्ने गर्छु म शिकारु हुँ, सिक्ने क्रममा छु, म भूईबाट नै पलाएको हुँ, मेरो धरातल र पृष्टभूमि कहिले भुल्दिन र भुल्ने छैन, नेपाली सांगीतिक आकाशमा, आदरणीय सर्जक र अग्रजहरुको त्याग तपस्या र समर्पणले गर्दा नै आज नेपाली संगीतले यतिको उंचाई लिएको छ, जहाँ हामी रम्न सिक्न पाएका छौ, संगीतलाइ निरन्तरता दिन पाएका छौं, यस्ता अग्रज श्रष्टाहरुको अपमान त के, म त्यसको कल्पनासम्म पनि गर्न सक्दिन !

    दर्शक श्रोता शुभचिन्तकहरुको अपार माया हौसला र साथले मैले नेपाल आइडल जितेको हुँ, त्यसको अर्थ यो होइन मेरो प्वाख पलाई आकाशमा उडी आफ्नो पृष्ठभूमि नै भुलेको, तिनै मलाई जिताउने आइडल बनाउने आदरणीय दर्शक श्रोता शुभचिन्तकको माया हौसला र खुशियाली बाँडन अहिले म वहाहरुको साथ मा रम्न यात्रामा छु, आफु कुनै स्थापित कलाकार भै नसकेको र आफ्नै गीत नगन्य भएकोले मैले/हामीले गाउने रम्ने भनेको आदरणीय सर्जकहरुकै गीत संगीत हो, दर्शक श्रोताहरु माझ पर्फ़म गरिरहदा कोहि बेला यस्तो माग वा परिश्थिति आउदो रहेछ जहाँ आफुले तयार नगरेको वा पुरा नआउने गीतलाइ गुनगुनाइ दिनुपर्ने अनुरोध आउछ, “सालको पातको टपरी” मा पनि मलाई यस्तै बाध्यता आई लागेको हो, अहिले जन जनको मुखमा झुन्डिएको यो गीतको फर्माइस दर्शकहरुमाझबाट आयो, मैले यो गीत पुरा र राम्ररी आउदैन भन्दा पनि दर्शकहरुको अपार मागको अघि मैले जे जति आउँछ गाउने पर्ने बाध्यता आइलाग्यो र शुरुमै मैले आगाह गरेको थिए कि यदि त्रुटी गल्ति भएमा क्षमा प्रार्थी हुनेछु !

    अहिलेको सर्वाधिक दर्शकबाट रुचाइएको लोकप्रिय गीत “ सालको पातको टपरी” लाइ बंग्याउने होच्याउने वा अपमान गर्ने मेरो कुनै ध्येय होइन, सबैको मुखमा झुन्डिएको गीतलाई अचानक श्रोता दर्शकबाट माग भै आउँदा, श्रद्धापुर्वक गाउने प्रयास मात्र गरेको हुँ, त्यसैले यस सिर्जनासंग सम्बन्धित सबैलाई मेरो हार्दिक सम्मान रहेको जानकारी गराउदछु, अनि आदरणीय सर्जकज्युहरुबाट संधै माया हौसला प्रदान गर्ने र बाटो देखाउने कार्य भै रहनेछ र हामी जस्ता संगीतका बिद्यार्थीहरुले सिक्ने अघि बढ्ने अवसर प्राप्त हुनेमा आशाबादी छु !

    अन्तमा मेरा तमाम आदरणीय दर्शक श्रोता शुभचिन्तकहरुलाइ यहाँहरुको माया साथ सद्भाव र हौसलाको लागि अन्तरहृदय देखि सम्मान गर्दै धन्यबाद ज्ञापन गर्न चाहन्छु, केहि उठेका बिषयमा सम्मानपुर्वक आफ्नो भावना राख्न पाइन्छ, गालि गलौच र अपशब्दहरुले कतै स्थान नपाऒस, धैर्यधारण र संयमताको लागि अनुरोध गर्दै, यहाँहरुको माया हौसला साथ सहयोगको सधै अनुरागी रहनेछु, धन्यबाद !

    – रवि ओड

    यता नेपाल आइडल रवि ओडले आफ्नो गीत खराब तरिकाले गाएको विषयमा मौन बसेकोमा असन्तुष्टि जनाउँदै संगीतकार बसन्त थापाले लोक दोहोरी प्रतिष्ठानबाटै अलग भएको घोषणा गरेका छन् ।

    बसन्तले सोमबार राति प्रतिष्ठानबाट अलग भएको बताएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘लोकगीतको सर्जकलाई पलपल आक्रमण भइरहँदा मौलिकतामाथि प्रहार भइरहँदा प्रतिष्ठामाथि गाली बर्सिरहँदा पनि टुलुटुलु हेरिरहनेहरु म मर्दा मलामी जान्छन् भन्ने कुरामा विश्वास गर्न सकिनँ । त्यसैले आजका मितिले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा आफू नरहेको जानकारी गराउन चाहन्छु ।’

    यनले अघि भनेका छन, ‘यस्तो सिर्जना गर्न मन छ, जसमा आवाज रवि ओडको होस र माया करोडको होस् । गाली गर्नेहरुलाई बारबार पश्चाताप होस् ।’

    अषट्रेलियामा आयोजित कन्सर्टमा रवि ओडले बसन्तद्वारा संगीतबद्ध चर्चित लोकदोहोरी ‘सालको पात…’ गाएका थिए । तर, उनले गीतको लिरिक्स बिगारेका थिए । अनुमति नलिएको र तोडमोड भएको भन्दै बसन्तले असन्तुष्टि जनाए ।

    तर, रविका फ्यानहरुले उनलाई गालीगलौज गरे । रविले भने फेसबुकमा प्रष्टीकरण दिँदै तयारीबिना दर्शकको मागअनुसार गीत गाउँदा त्रुटि हुन पुगेको बताएका छन् । रविले बसन्तसित कुरा गर्दै माफी पनि मागेका छन् ।

    बसन्तले भने रविसँग व्यक्तिगत बैमनश्यता नभएको तर, व्यवसायिक प्रयोजनका लागि अनुमति विना अरुको गीत गाउन नहुनेमा जोड दिँदै आएका छन् । तर, यो प्रकरणमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मौन बसेकोमा बसन्त असन्तुष्ट छन् । 

    लोकदोहोरी प्रतिष्ठानका उपाध्यक्ष पशुपति शर्माले भने बसन्तले उठाएको विषय जायज भएको बताए । प्रतिष्ठानको फागुन १ गते वैठकमा यसबारे कुराकानी हुन सक्ने भन्दै उनले फेसबुकमा आएको गालीबाट विचलित नहुन आग्रह गरे ।

    उनको भनाइ जस्ताको तस्तैः

    म पनि पहिले यस्तै खाले तनावमा फसेको थिएँ । मेरो एउटा लोकदोहोरीले दलितहरुको अपमान गरेको भनेर विवाद उब्जिएको थियो । त्यसमा मलाई पनि धेरै गालीगलौज आए । धम्की आए । त्यतिबेला मेरो मनमा पनि नकारात्मक भावहरु नआएका होइनन् । यस्तो अवस्थामा आफूलाई झन् बलियो बनाउनुपर्ने रहेछ । मैले आफूलाई बलियो बनाएँ । त्यतिबेला म लोकदोहोरी प्रतिष्ठानको सचिव थिए । प्रतिष्ठानले त्यो इस्यूमा केही बोलेन र मैले बोल्नुपर्छ भन्ने माग पनि गरिनँ । बरु आफैंले व्यक्तिगतरुपमा एउटा प्रेस विज्ञप्ति जारी गरेँ ।

    अहिले बसन्त भाइको विवादलाई पनि नजिकबाट नियालिरहेको छु । उनले उठाएको कुरा गलत होइन । हरेक सर्जकलाई आफ्नो सिर्जनाको माया हुन्छ । आफ्नो गीतलाई स्टेजमा कसैले तोडमोड गरेर गाउँदा चित्त दुख्नु स्वभाविकै हो । त्यसमाथि अरुको गीत गाउँदा सम्वन्धित स्रष्टासँग अनुमति पनि लिनुपर्ने हुन्छ । गाउनु अगाडि उनीहरुको नाम लिनुपर्छ । त्यो गरेको देखिएन ।

    यो विवादमा लोकदोहोरी प्रतिष्ठानको धारणा म अहिले बताउन सक्दिनँ । किनकी प्रतिष्ठानको वैठक बसेर छलफल गर्नुपर्ने हुन्छ । बसन्त भाइले प्रतिष्ठानबाट अलग हुने कुरा गर्नुभएको छ । उहाँले यस विषयमा कुनै लिखित वा मौखिक ढंगले प्रतिष्ठानमा कुरा राख्नु भएको थियो कि थिएन थाहा भएन । उहाँले संस्थागत ढंगले जानुपर्छ । अर्को कुरा नकारात्मक कमेन्टहरु आए भनेर विचलित नहुन उहाँलाई सुझाव दिन्छु । बरु कमेन्टहरु पढ्दै नपढे हुन्छ । सामाजिक सञ्जाल भनेको त्यस्तै रहेछ । म आफू विवादमा परेदेखि सामाजिक सञ्जालमा सक्रिय हुनै छोडिदिएँ । यसो गीतहरु सेयर गर्छु । अरु केही लेख्दिनँ ।

    प्रतिष्ठानको फागुन १ गते वैठक बस्दैछ । सम्भवत त्यस वैठकमा यो विवादबारे छलफल भएर कुनै निष्कर्षमा पुग्न सकिन्छ । तर, मुलभुत कुरा भनेको स्रष्टाको सृजना संरक्षण कसरी गर्ने भन्ने नै हो । किनकी स्टेजमा अरुका गीत गाइदिन सजिलो हुन्छ, तर, ती गीत सिर्जनामा कति मेहनत, दुख परेको हुन्छ त्यो स्रष्टालाई मात्र थाहा हुन्छ ।


    1390 0 2/5/2019 @ 15:37
  • ktm वरपरका खबरहरु

तपाईका प्रतिक्रियाहरु

नेपाली टाईप गर्नको लागि (Press Ctrl+g to toggle between English and Nepali)

Advertisements
Top