• जीवन श्रेष्ठ

    प्रथम नायिकाको स्मरण : हामी त आँखाबाटै ग्ल्यामर दिन्थ्यौं


    नेपालमा पनि चलचित्र बन्ला र आफू नायिका बनौला भनेर भुवन चन्दले पहिले सोचेकी नै थिइनन् । २०१० सालबाट रंगमञ्चमा रमाउन थालेकी उनी त्यसैमा सन्तुष्ट थिइन् । विदेशी चलचित्रहरु हेर्दा उनलाई पनि नायिका बन्ने मोह नजाग्ने होइन । तर, त्यो पूरा होला भन्ने एकरति आश उनीमा थिएन ।

    जब भुवनले नेपालमा पहिलोचोटि आमा नामक चलचित्र बन्दैछ भन्ने सुनिन्, खुसीको सिमा नै रहेन । सो चलचित्रका लागि रंगमञ्चमा काम गरिरहेका कलाकारलाई अडिसनको लागि बोलाइयो । उनी फुरुंग हुँदै गइन् । ‘त्यो बेला कलाकार नै कम थियौं । कलाकार पाउन एकदमै गाह्रो थियो,’ भुवन सम्झिन्छिन्,’ जो–जो अडिसनमा गयौं, सबै नै अनुबन्धित भयौं । मलाई मुख्य नायिकामा लिइयो ।’

    भुवन चन्द नेपाली फिल्म क्षेत्रको पहिलो नायिकाको रुपमा परिचित छिन् । उनी यसलाई आफ्नो सौभाग्य मान्छिन् । सो चलचित्रमा चैत्यदेवीले आमाको भूमिका निर्वाह गरेकी थिइन् । उक्त फिल्ममा बसुन्धरा भुषालको पनि अभिनय रहेको थियो ।

    कलाकार बन्न निकै गाह्रो
    भुवन चन्दका बुबा भैरवबहादुर थापा आफैं कलाकार थिए । २०१० सालमा बालकृष्ण समको नाटक ’अन्धवेग’ मञ्चन गर्ने तयारी भयो । सबै कलाकारहरु तयार भए । तर, एक सानो छोरीको भूमिकामा अभिनय गर्ने कलाकार भेटिएन । त्यही समयमा भैरवले आफ्नी छोरीलाई खेलाउने प्रस्ताव राखे । सबैले स्विकारे पनि । भुवन सम्झिन्छिन्, ’मलाई त मेरो बुबाले नै कलाकारितामा लग्नु भएको हो ।’

    त्यस समयमा कलाकारलाई समाजमा राम्रो दृष्टिकोणले हेरिन्न थियो । उनी सम्झिन्छिन्, ’मलाई कलाकार नबन, नाच्ने–गाउने काम राम्रो होइन भनेर धेरैले भन्नुभयो । तर, आन्तरिक कुराहरु उहाँहरुलाई थाहा थिएन । कला क्षेत्र भनेको त यति पवित्र क्षेत्र हो, यहाँ जे काम पनि सरस्वतीको नाम जपेर मात्र सुरु गरिन्छ ।’

    त्यो बेला कलाकार बन्न सजिलो थिएन । कलाकार बनेर जीउन पनि पक्कै सजिलो थिएन । कलाकार भएपछि अनेक भूमिकाहरु निर्वाह गर्नुपर्छ । कहिले आमा, कहिले श्रीमती, कहिले के त कहिले के । ‘कतिको श्रीमती बनियो, कतिको आमा पनि बनियो,’ उनी भन्छिन्, ‘घरमा श्रीमान हुँदाहुँदै पनि विधवा बनेर रुनुपथ्र्यो ।’

    त्यो समय
    भुवन आफ्नो युगमा निर्माण भएका हरेक चलचित्रले समाजको कथा प्रस्तुत गर्ने गरेको बताइन् । उनले भनिन्, ’मैले जति पनि चलचित्रमा काम गरे, हरेक चलचित्रले समाजको कथा भनेको छ । त्यस समायमा निर्माण हुने हरेक चलचित्रमा राम्रो कथा हुन्थ्यो ।’

    सुरुवती दिनमा निर्माण भएका हरेक चलचित्रलाई दर्शकले सम्झिरहन्छन् । त्यसमा अभिनय गर्ने कलाकारलाई पनि । ‘त्यो बेला टेकनिकल्ली हामी पछाडि थियौं, तर अभिनयको हिसाबमा हामी कम थिएनौं । हाम्रो अभिनयलाई दर्शकले बिर्सिदैनन् ।’

    भुवन आफ्नो युगमा हरेक कलाकारले आँखाबाट अभिनय गर्ने बताउँछिन् । ‘अहिलेको जस्तो ग्लामरस लुगा कहाँ लगाइन्थ्यो र । हामी त आँखाबाट नै ग्ल्यामर दिन्थ्यौं,’ उनले भनिन्, ‘अहिले जति देखायो उति ग्ल्यामरस, त्यसबेला जति छोप्यो उति ग्ल्यामरस । हेर्नुस त कति परिवर्तशील छ समय ।’

    तत्कालिन समयमा एक कलाकारले अर्को कलाकारलाई खुलेर सहयोग गर्ने गरेको उनी सम्झिन्छिन् । उनले भनिन्, ‘त्यो समयमा हामी कलाकारहरु तँ यो गर, म यो गर्छु, यसरी ग¥यो भने राम्रो हुन्छ भनेर निकै छलफल गथ्र्यौं ।क्यामेराम्यानले क्यामेरामा हेरेको भरमा सिन ओके हुन्थ्यो । राम्रो भए नभएको अरुलाई पत्तो हुन्न थियो । त्यसैले पनि हामी राम्रो गर्न जोडतोड लाग्थ्यौं ।’

    ‘त्यो समय एक कलाकारले अर्को कलाकारलाई निकै सम्मान गर्थे । आफू भन्दा सिनियरलाई झुकेर सम्मान गर्ने चलन थियो । उहाँहरुले पनि हामीलाई निकै माया गर्नुहुन्थ्यो । हामी कलाकारमा छुट्टै सामिप्यता थियो ।’

    यो समय
    भुवन चन्द अहिले पनि चलचित्रमा काम गरिरहेकै छिन् । उनी वर्षमा एक–दुईवटा चलचित्रमा देखिन्छिन् । अहिले निर्माण भइरहेका चलचित्रमा निकै कमजोर कथा हुने उनको बुझाई छ । सानो कुरालाई नै पुरा फिल्ममा देखाइने अहिलेको चलनले उनलाई खुसी बनाउन सकेको छैन ।

    ‘पहिलाको चलचित्र दर्शकले नबिर्सिनुको कारण बलियो कथा नै हो,’ भुवनले भनिन्, ‘अहिलेका चलचित्रमा कथा नै छैन । त्यसैले सम्झनलायक फिल्म पनि कमै छन् ।’ अहिलेका कलाकारहरु पनि राम्रो अभिनय गर्न सक्ने क्षमता भएको उनले बताइन् । ‘अहिले आउनुभएका कलाकारहरु पनि राम्रो अभिनय गर्न सक्ने हुनुहुन्छ । कोही अभिनय सिकेर आउनु भएको छ, कोही थिएटरबाट’, उनी भन्छिन्, ’अहिलेका कलाकारले राम्रो कथा पाउने हो भने धेरै राम्रो अभिनय देखाउन सक्छन् ।’

    तर, अहिलेका कलाकारलाई दर्शकले गर्ने सम्मान घटेको उनको बुझाई छ । ‘अहिले धेरै कलाकारहरु धेरै हुनुहुन्छ । जताततै कलाकार भएर पनि सम्मान घटेको हो जस्तो लाग्छ’, भुवनले सुनाइन् । दर्शकले मात्र हैन्, कलाकारले पनि कलाकारलाई गर्ने सम्मान घटेकोे अनुभव उनको छ । ‘अहिले त को अग्रज, कसलाई सम्मान दिने कसैलाई मतलब छैन,’ भुवनले गुनासो गरिन् ।

    विरक्त लागेको बेला
    आजभन्दा करिव ८ वर्ष अगाडि, आधा सताब्दीभन्दा लामो समय चलचित्र कर्म गर्दै आइरहेकी भुवनलाई चलचित्र क्षेत्रबाट विरक्त लाग्यो । स्तरहिन चलचित्र बन्न थालेपछि किन चलचित्र क्षेत्रमा आएछु भन्ने सोच्न थालेकी थिइन् । उनी सम्झिन्छिन्, ’त्यो समय अश्लिल फिल्महरु धेरै बने । निर्माता–निर्देशक पनि त्यही सोचले यस क्षेत्रमा प्रवेश गरे । चलचित्र क्षेत्र त पुरै ध्वस्त जस्तै भयो । उक्त समय चाहीँ लागेको थियो, ’धत् म किन यस क्षेत्रमा लागेछु !’

    त्यस समय चलचित्र क्षेत्रमा कलाकारहरु पैसा हालेर हिरो बन्थे । हिरोइनहरु जति पनि नांगिन तयार थिए । मन दुखाउँदै भुवन बोल्छिन्, ‘यस्तो हामीले सम्मान गरेर काम गरिहरेको, दुःख गरेको क्षेत्रलाई अपमान गर्दा साँच्चिकै मन दुखेको थियो ।’

    अब निर्माता पनि भुवन
    नेपालकी पहिलो नायिका भुवन पहिलोपटक निर्माता बनेकी छिन् । उनको लगानीमा चलचित्र ‘साइनो’ बन्दैछ । चलचित्रको लगभग ९५ प्रतिशत छायांकन सकिएको छ । भुवन निर्माता बनेर काम गर्नुपर्दा निकै गाह्रो भएको बताउँछिन् । ‘मैले यो महसुस गर्न पाएको थिइनँ कि, निर्माता बन्दा कति गाह्रो हुन्छ’, उनले भनिन्, ’निर्माता भएर काम गर्दा चलचित्र क्षेत्रलाई झनै बुझ्न पाएको छु ।’

    चलचित्र क्षेत्रमा लागेपछि भुवनले एक चलचित्र आफैंले निर्माण गर्ने संकल्प गरेकी थिइन् । त्यो आज आएर पूरा भएको छ । उनी भन्छिन्, ‘कलाकार भएपछि एक फिल्म निर्माण गर्ने संकल्प राखेको थिएँ । आज त्यो पूरा भएको छ । यो चलचित्र रिलिज भएपछि पुनः चलचित्र निर्माण गर्ने या नगर्ने निधो गर्नेछु ।’

    अनलाइन खबरबाट


    1075 0 1/8/2019 @ 17:21
  • ktm वरपरका खबरहरु

    जीवन श्रेष्ठ द्वारा लिखित अन्य खबरहरु

तपाईका प्रतिक्रियाहरु

नेपाली टाईप गर्नको लागि (Press Ctrl+g to toggle between English and Nepali)

Advertisements
Top