काठमाडौं । रेष्टुरेन्ट तथा बारमा अबदेखि अतिरिक्त सेवाशुल्क नलाग्ने भएको छ । यसअघि १० प्रतिशत सेवाशुल्क लाग्ने भए पनि रेष्टुरेन्ट तथा बार एसोसियशन नेपाल रेबानले शेवाशुल्क हटाउने निर्णय गरेको हो । रेबानको सोमबार काठमाडौंमा भएको भेलाले यस्तो निर्णय गरेको अध्यक्ष प्रमोद जैसवालले बाह्रखरीलाई जानकारी दिए ।
जारी विज्ञप्तिमा पनि १० प्रतिशत सेवाशुल्क हटाइएको उल्लेख छ । “रेष्टुरेन्ट तथा बार एसोसियसन नेपाल रेबान (काठमाडौं, पोखरा र सौराहा) को मिति २०७५ साल माघ १४ गते काठमाडौंमा सम्पन्न बृहत भेलाले रेष्टुरेन्ट तथा बारहरुमा लगाउँदै आएको अतिरिक्त १० प्रतिशत सेवा शुल्क उपभोक्ताहरुबाट भएको चौतर्फि विरोध तथा असन्तुष्टिका कारण उपभोक्ता हित तथा अनुरोधलाई ध्यानमा राखी आजको मितिदेखि क्रमिक रुपमा लागु हुनेगरी सेवाशुल्क हटाउने निर्णय गरिएको छ,” जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, “आजको निर्णयसँगै काठमाडौैं, पोखरा र सौराहाका बार तथा रेष्टुरेन्टमा सेवा प्रयोग गरेबापत कुनै सेवाशुल्क लिइने छैन । सेवाशुल्क हटाएसँगै गुणस्तरीय सेवा प्रदान गर्ने कुरामा प्रतिवद्ध छौं ।”
अध्यक्ष जैसवालले सेवाशुल्क हटाउन ग्राहकको चौतर्फि दबाब आएको भए पनि अहिले उक्त निर्णय गरिएको बताए । “हामीलाई धेरै दबाब आएको थियो । सर्भिस बिग्रियो भन्ने गुनासो आएको थियो,” जैसवालले भने, “पहिला कुन अवस्थामा लागु गरिएको थियो भन्ने धेरैलाई जानकारी नै छ ।” रेबानमा आवद्ध अहिले ५ सय बढी रेष्टुरेन्ट छन् । उनले मजदुरहरुका माग पनि आफूहरुले विस्तारै सम्बोधन गर्ने बताए ।
“यसलाई क्रमबद्ध रुपमा कार्यान्वयनमा लैजान्छौं,” उनले भने । भारतमा पनि यसअघि नै सेवाशुल्क हटाइसकेको हुँदा आफूहरुलाई बढी दबाब आएको उनको भनाइ थियो ।
ktm वरपरका खबरहरु
जीवन श्रेष्ठ द्वारा लिखित अन्य खबरहरु